काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बुधबार आगलागी भएको ढल्केबर सवस्टेसनको अध्ययन तथा निरीक्षणमा पुगेका छन्।
बुधबार आगलागी भएको सवस्टेसन १३२/३३/११ केभी खण्डमा आगलागी भएको थियो। जसका कारण धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा र महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायत क्षेत्रमा विद्युत् अवरुद्ध हुँदै आएको छ।
ढल्केबर सवस्टेसनमा आगलागी हुँदा देशभर नै बिजुली वितरण प्रणाली प्रभावित भएको थियो। आगलागीका कारण आएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान लोड (माग र आपूर्ति) को अवस्था तथा यस्ता समस्याको समाधान गर्ने उद्देश्यसहित टोली त्यहाँ पुगेको प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
दिगो र भरपर्दो विद्युत् आपूर्ति गर्न पूर्वाधार संरचनाको मर्मत सम्भार, नयाँ जडान लगायत काम गर्ने र भविष्यमा यस्ता खालका दुर्घटना हुन नदिने गरी अगाडि बढ्ने योजनाका साथ यसको अध्ययन गरिने भएको छ। ढल्केबर देशकै ठूलो सवस्टेसन हो।
‘यहाँ ४०० केभीदेखि ११ केभी (४००/ २२०/१३२/३३/११ केभी) सम्मका अलग-अलग सवस्टेसन छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘बुधबार आगलागी भएको वा समस्या आएको सवस्टेसन १३२/३३/११ केभी खण्डमा मात्र हो।’
सवस्टेसन पूरै खण्डमा कुनै समस्या नआएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए। यो सबैभन्दा पुरानो सवस्टेसन हो।










