महँगियो कफी : खुद्रा कारोबारीदेखि क्याफेसम्म मूल्य बढ्दै जानुको के हो कारण?

सरला सुवेदी
२०८१ चैत्र २९ गते ०६:०४ | Apr 11, 2025
महँगियो कफी : खुद्रा कारोबारीदेखि क्याफेसम्म मूल्य बढ्दै जानुको के हो कारण?


काठमाडौं। खुद्रा खरिदबिक्री कारोबारीदेखि क्याफेसम्म एकाएक कफीको भाउ बढेको छ। अन्तर्राष्ट्रिय बजारबाटै बढेर आएको भन्दै व्यवसायीले नेपाली बजारमा मूल्य बढाएका छन्।

Tata
GBIME
NLIC

कफी उत्पादन संसारका दुई ठुला देश ब्राजिल र भियतनाममा खराब मौसमको कारण ५ महिनाअघि उत्पादन घट्ने भनिएको थियो। माग धेरै र उत्पादन कम हुने भएपछि भाउ महँगिने अनुमान त्यसबेलै गरिएको थियो। यतिबेला अन्तर्राष्ट्रिय बजारमा कफीको मूल्य ३.६० प्रति पाउण्ड (०.४५ किलोग्राम) पुगेको छ। गत साता ३.९३ प्रति पाउण्ड पुगेको थियो।

आपूर्ति घट्ने खबर सञ्चारमाध्यमहरुमा आएसँगै मूल्य घटबढको क्रम सुरु भइसकेको थियो। यतिबेला कफीको माग अन्तर्राष्ट्रिय बजारमै उच्च छ। माग चुलिएसँगै भाउ बढिरहेको छ। चियाका तुलनामा नेपालमा कफीका पारखी थोरै छन् तर संख्या बर्सेनि बढ्दो क्रममा रहँदा आयात बढेको छ।

बजारमा पाइने स्वदेशी कफीदेखि भारतबाट आयात गरिएको कफीको उपभोक्ता मूल्य केजीमा ५ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन्। गत वर्षको तुलनामा कफीको उपभोक्ता मूल्य केजीमा ४ सयदेखि ५ सय रुपैयाँ बढेको नेपाल कफी महासंघले जनाएको छ। महासंघका अनुसार कच्चादेखि तयारी कफीको भाउ वृद्धि भएको छ। 

नेपाल कफी महासंघका महासचिव सन्तोष पोखरेलले गत वर्षको तुलनामा कफी महँगिएको बताए। ‘हामीकहाँ उत्पादन धेरै छैन, आयातितमा बढेपछि स्वदेशी उत्पादनमा पनि सोझो प्रभाव परिहाल्छ,’ उनले भने। 

उनका अनुसार यतिबेला किसानले उत्पादन गर्ने कच्चा कफी (ग्रीन बिन्स) को भाउ गत वर्षको भन्दा १०० देखि १५० रुपैयाँ बढेको छ। आयातित कफीको मूल्य केजीमा ३०० देखि ४०० रुपैयाँ बढेको छ। उपभोक्ताले खरिद गर्ने कफीको मूल्य केजीमा ४ सय देखि ५ सय रुपैयाँ वृद्धि भएको उनले बताए।

‘पोहोर साल १६ सय केजीमा खरिद गरेको कफी अहिले प्रति केजी २१ सय देखि २२ सय रुपैयाँ पर्न सक्छ,’ उनले भने, ‘कफीको भाउ बढ्दा किसानले राम्रो मूल्य पाएका छन्। गुणस्तर अनुसार बजारमा कफीको भाउ फरक पर्छ।’

नेपालमा प्रशोधित तयार प्याकेटका कफीको तुलनामा अत्यधिक आयात कफीको ग्रीन बिन्सको हुन्छ। कफीको माग धेरै भएकाले ग्रीन बिन्स नै महँगो हुन थालेको उनको भनाइ छ।

६ महिनायता कफीको मूल्य बढ्न थालेको अरेबिका कफीका संचालक विकास भण्डारी बताउँछ्न्। ‘यसमा कुरा प्रष्ट नै छ बजारमा कफीको माग धेरै र आपूर्ति कम छ, त्यही भएर भाउ बढेको हो,’ उनले भने। ६ महिनाअघि प्रति केजी एक हजार रुपैयाँ पर्ने कच्चा कफी अहिले १६ सय रुपैयाँ पुगेको उनले बताए।

‘आयात भएर आउने कफीको पनि उस्तै मूल्य पर्छ,’ उनले भने,’पहिले ५० प्रतिशत मार्जिन हुन्थ्यो। अहिले मूल्य बढेर ३० प्रतिशतमात्र मार्जिन छ।’ कच्चा कफीको मूल्य बढेपछि वैशाखदेखि क्याफेहरुमा तयारी कफीमा पनि मूल्य बढाउने तयारी भइरहेको उनले बताए। ‘ग्राहकले खाने कफीको मूल्य १५ देखि २० प्रतिशतसम्म बढ्न सक्छ,’ उनले भने।

बबरमहलमा मार्ट संचालन गरिरहेका एक व्यवसायीले कफीको थोकदेखि खुद्रा मूल्य लगातार उकालो लागिरहेको बताए। ‘दुई महिनाअघि ४ सय ग्रामको १६ सय पर्ने नेस्क्याफे अहिले १८ सय रुपैयाँ पुगेको छ,’ उनले भने, ‘अहिले सबै खालका कफीको भाउ बढेको छ।’ पुरानो स्टक हुनेले भने भाउ नबढाएको दाबी उनले गरे। ‘नयाँ प्याकिङ भएर आएको कफीमा नयाँ मूल्य छ,’ उनले भने, ‘धेरै बढ्ला जस्तो मलाइ लाग्दैन।’

केही व्यवसायीहरु भने नेपाली बजारमा माग उच्च भएकाले नाफा धेरै लिन अवैधरुपमा ठूलो परिमाणमा कफी आएको दाबी गर्छन्। वैधानिक आयातमा ४० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। त्यसैले अवैध आयात बढेको उनीहरुको जिकिर छ।

स्वदेशी कफीको उत्पादन निकै कम छ। ७५ प्रतिशतभन्दा बढी भारतबाट आयात हुन्छ। नेपालमा व्यवसायिक रुपमा कफीको खेती हुने क्षेत्र नबढ्दा आयातको परिमाण बढिरहेको छ।

घरमा आफैं बनाएर खानेका तुलनामा उपत्यकामा होटल, रेस्टुरेन्ट र क्याफेहरुले कफी निकै धेरै बिक्री गर्छन्। कफीका पारखी बढेसँगै बजारमा क्याफे थपिने क्रम पनि वृद्धि भएको छ। नेपाल कफी महासंघका अनुसार मुलुकमा बर्सेनि २२०० मेट्रिक टन कफी खपत हुन्छ। आन्तरिक उत्पादन करिब साढे ५ सय टन छ। त्यसमा पनि करिब ७० देखि ९० टनको हाराहारीमा निर्यात हुने गरेको छ। बजारमागलाई आन्तरिक उत्पादनले करिब २ महिनामात्रै धान्ने गरेको छ। १० महिना आयात हुने कफीले बजार लिने गरेको महासंघले जनाएको छ।

हाल नेपालमा ४० भन्दा बढी जिल्लामा कफी खेती हुँदै आएको छ। तर, बजारमागका तुलनामा उत्पादन परिमाणमा अपेक्षाकृत वृद्धि छैन। नेपालमा उत्पादित कफी २० भन्दा बढी देशमा निर्यात हुने गरेको छ। राष्ट्रिय चिया कफी बोर्डका अनुसार नेपालमा उत्पादन भएको कफी १७ प्रतिशतमात्रै निर्यात हुने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १४ करोड रुपैयाँको कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँको कफी आयात भएको भन्सार विभागको तथ्यांकमा छ।

नेपाल कफी महासंघका अनुसार देशभर २६ हजार किसान कफी खेतीमा आबद्ध छन्। कफी रोस्टिङ गरी प्याकिङ गर्ने ४२ वटा कम्पनी/फर्म छन् भने कारोबारी ४ हजारभन्दा बढी छन्। नेपाली बजारमा हिमालयन अरेबिका कफी प्रचलित छ। आयात गरेको कफीलाई पनि बजारमा व्यवसायीले नेपाली भनेर बिक्री गरिरहेको पाइने महासंघले जनाएको छ।

महासंघको तथ्यांकअनुसार नेपालमा कफी वार्षिक उत्पादन ५८६ मेट्रिक टनसम्म हुने गरेको छ। अघिल्ला वर्षदेखि कफीको निर्यात ९० देखि १०६ मेट्रिक टनको हाराहारीमा हुने गरेको छ। आयात भने २ हजार मेट्रिक टनसम्म भइरहेको छ।