बुटवल-पोखरा सडक अर्थमन्त्रीको प्राथमिकतामा, ऋण सहयोगमा निर्माण हुने

शुक्र गिरी
२०८१ चैत्र २६ गते २१:०९ | Apr 8, 2025
बुटवल-पोखरा सडक अर्थमन्त्रीको प्राथमिकतामा, ऋण सहयोगमा निर्माण हुने


काठमाडौं। बुटवल-पोखरा सडक आयोजना ऋण सहयोगमा निर्माण हुने भएको छ। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को ऋण लगानीमा बुटवल-पोखरा सडक आयोजना अगाडि बढाउने तयारी गरिएको छ।

Tata
GBIME
NLIC

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बुटवल-पोखरा सडक निर्माणलाई प्राथमिकताका राखेका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमा यो आयोजना समावेश गर्न सरोकारवाला निकायहरुलाई आग्रह समेत गरेका छन्।

पूर्वतयारीको काम सक्दो चाँडो गर्न उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पनि ताकेता गरिरहेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल-पोखरा सडक स्तरोन्नतिलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न प्रस्ताव पनि गरिसकेको छ।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर मुकुन्दराज अधिकारीले एआईआईबीको ऋण लगानीमा सडक स्तरोन्नति गर्ने पक्का पक्कीजस्तै भएकै बताए।

‘यसअघि त्रिभुज परियोजनामा सडक कसको लगानीमा बनाउने भन्ने स्पष्ट थिएन। अहिले एआईआईबीको सहयोगमा बनाउने गरी डीपीआर तयार पार्ने काम भइरहेको छ,’ उनले भने। उनी विभागमा चिनियाँ ऋण तथा अनुदान लगानीमा संचालित आयोजना हेर्छन्।

डीपीआर दुई महिनामा

बुटवल-पोखरा सडक स्तरोन्नति गर्ने सम्बन्धमा अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको छ।

विभागको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर अधिकारीले एआईआईबीले आफैं फुलब्राइट कन्सल्टेन्सीलाई डीपीआर तयार पार्न जिम्मा दिएको बताए।

‘अहिले एआईआईबीले डीपीआर बनाउने काम गरिरहेको छ। डीपीआर अनुसार सडकको लम्बाइ र लागत तय हुन्छ,’ उनले भने। फुलब्राइट कन्सल्टेन्सीले तीन महिनाभित्र प्रतिवेदन बुझाउने भनेको छ।

यसअघि सडक विभागले पनि डीपीआर तयार पारेको थियो। जसमा सडक १५७ किलोमिटर हुने भनिएको थियो। तर, फुलब्राइट कन्सल्टेन्सीले भने मार्ग परिवर्तन गरेर १२४ किलोमिटर स्तरोन्नति गर्ने गरी डीपीआर बनाउने काम गरिरहेको छ।

अहिले बुटवलबाट पोखरा पुग्न करिब ५ घण्टा लाग्छ। त्यो समय दुई घण्टामा झार्ने गरी सडक विस्तार गर्ने तयारी छ। ‘डेडिकेटेड दुई लेन सडक निर्माण गर्ने भन्नेछ। सडकमा सुरुङ मार्ग पनि बनाउनुपर्ने छ। तर, सबै कुरा डीपीआर बनेपछि मात्र थाहा हुन्छ,’ अधिकारीले भने।

विभागको डीपीआर अनुसार सडक विस्तारमा १९ अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान छ।

यो सडक विस्तारमा २ वटा सुरुङ मार्ग बनाउने कुरा छ। त्यहीकारण जापानी सहयोग नियोग जाइकाले पनि रुचि देखाएको थियो। तर एआईआईबीले डीपीआर अगाडि बढाएपछि जाइका पछि हटेको विभागको बुझाइ छ।

इन्धनमा वार्षिक एक अर्ब बच्ने

विस्तारपछि सडकमा ६० देखि ९० किलोमिटर प्रति घन्टाको स्पिडमा सवारीसाधन चलाउन सकिनेछ। यो एक्सप्रेस वेमा सवारीले औसत २० किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ। जसले अहिलेको अवस्था त्यो समयमा इन्धन बचाउँछ।

यो सडक हुँदै अहिले एकतर्फीरुपमा दिनहुँ पेट्रोल कार २ हजार र डिजल गाडी १५०० हाराहारी सञ्चालन हुन्छन्। विस्तारपछि पेट्रोल कारले दुई लिटर र डिजल गाडीले ३ लिटर इन्धन बचाउने अनुमान छ। यो भनेको अहिलेको मूल्यअनुसार दैनिक १३ लाख रुपैयाँ हो।

दुईतर्फीरुपमा चल्ने गाडीमा दैनिक २६ लाख रुपैयाँ हाराहारीको इन्धन बचत हुने विभागको प्रारम्भिक हिसाव छ। यो भनेको वार्षिक एक अर्ब रुपैयाँ हाराहारी हुन आउँछ।

सडक स्तरोन्नतिपछि इन्धन खर्च बच्नुका साथै पर्यटन प्रवर्धन तथा ग्रामिण अर्थतन्त्र विकासमा टेवा पुग्ने बुझाइ छ।