
रोयल च्यालेन्जर्स बेङ्ग्लुरु गुजरात टाइटन्ससँग पराजित भएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरातले बेङ्ग्लुरुमाथि ८ विकेटको प्रभावशाली जित निकालेको हो।
बेङ्ग्लुरुस्थित एम चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। बेङ्ग्लुरुका लागि लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाउँदा जितेश शर्माले ३३ तथा टिम डेभिडले ३२ रन बनाए।
बलिङतर्फ गुजरातका मोहम्मद सिराजले ३ विकेट लिँदा साइ किशोरले २ तथा अश्रद खान, प्रसिद कृष्णा र इशान्त शर्माले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। गुजरातका जोस बटलरले सर्वाधिक अविजित ७३ रन बनाउँदा शेरफेन रुथरफोर्ड ३० रनमा अविजित रहे। त्यसअघि ओपनरद्वय साइ सुदर्शनले ४९ तथा कप्तान शुभमन गिलले १४ रन बनाएका थिए। बेङ्ग्लुरुका लागि जोस हेजलवुड र भुवनेश्वर कुमारले विकेट लिएका थिए।
प्रतियोगितामा लगातार दुई खेल जितेको बेङग्लुरुको यो पहिलो हार हो भने हारबाट प्रतियोगिताको सुरुवात गरेको गुजरातको यो लगातार दोस्रो जित हो।
समान ४ अंक बनाएका यी दुई टोली क्रमश तालिकाको तेस्रो र चौथो स्थानमा छन्।