आईपीएल: मुम्बई इण्डियन्स फेरि पराजित, गुजरातको पहिलो जित

बिजमाण्डू
२०८१ चैत्र १७ गते ०५:५५ | Mar 30, 2025
आईपीएल: मुम्बई इण्डियन्स फेरि पराजित, गुजरातको पहिलो जित
मुम्बईको विकेट सेलिब्रेट गर्दै गुजरातका खेलाडी। तस्बिर: आईपीएल


इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले लगातार दोस्रो हार ब्यहोरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले मुम्बईलाई ३६ रनले हराएको हो।

Tata
GBIME

टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। घरेलु टोलीका लागि साइ सुदर्शनले सर्वाधिक ६४ रन बनाउँदा जोस बटलरले ३९ र कप्तान शुभमन गिलले ३८ रनको योगदान दिए।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिँदा ट्रेन्ट बोल्ट, दीपक चहर, मुजिब उर रहमान र सत्यनारायण राजुले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ६ विकेट गुमाउँदै १६० रनमा समेटियो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाउँदा तिलक वर्माले ३९ रन बनाए। त्यस्तै नमन धीर र मिचेल स्यान्टनर समान १८ रनमा अविजित रहे।

बलिङतर्फ गुजरातका मोहम्मद सिराज र प्रतिश कृष्णाले समान २ विकेट लिँदा कागिसो रबाडा र साइ किशोरले समान १ विकेट लिए।

जारी आईपीएलमा गुजरातको यो पहिलो जित हो। यसअघिको खेलमा उसले पञ्जाव किंग्ससँग हार ब्यहोरेको थियो। अर्कोतर्फ, पहिलो खेलमा चेन्नइ सुपर किंग्ससँग पराजय ब्यहोरेको मुम्बईको यो लगातार दोस्रो हार हो।

आज आईपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद पौने ४ बजे भिड्नेछन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नइ सुपर किंग्स पौने ८ बजे भिड्नेछन्।