
काठमाडौं। माघको दोस्रो साता दरबारमार्गस्थित होटल याक एण्ड यतीमा एक कार्यक्रमका लागि ५० वटा कोठाको अग्रिम बुकिङ थियो। यो बुकिङ लेजर ट्राभल गर्ने पर्यटक अन्तर्गतको थिएन।
पर्यटक आगमन कम हुने समयमा होटल उद्योगको व्यापारलाई ब्याक-अप गर्दै आएको अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआइडी) अन्तर्गतको कार्यक्रमका लागि यो बुकिङ गरिएको थियो। तर नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेकै दिन गत जनवरी २० मा सबै किसिमका अन्तर्राष्ट्रिय सहयोग रोक्न कार्यकारी आदेश जारी गरेपछि यो बुकिङ रद्द हुन पुग्यो।
याक एण्ड यतीका लागि यस्ता कार्यक्रमको बुकिङ अप्रिलसम्मको थियो। तर यूएसएआइडीले ती सबै कार्यक्रमहरू रद्द गरेपछि होटलको व्यापारमै असर पर्न गएको डाइरेक्टर अफ सेल्स गोविन्द अधिकारीले बताए। ट्रम्पको उक्त घोषणाले होटलको १० प्रतिशत व्यापार गुगेको उनको दाबी छ।
‘समग्र सहरमा अमेरिकन एडअन्तर्गतको कार्यक्रम धेरै हुँदै आएको छ। हामीले मिक्स सेगमेन्टमा कार्यक्रम गर्दै आएका छौँ। त्योमध्ये पनि अमेरिकन एडको साना ठूला कार्यक्रम पनि थिए। तर ती सबै रद्द भए,’ उनले भने, ‘अधिकतम ३० कोठा बुक गरिएको थियो। उतैबाट एड रद्द भएपछि व्यापारमा प्रभाव परेको छ।’
पछिल्लो समय नयाँ-नयाँ होटल संचालनमा आइरहेको अवस्थामा यसैपनि व्यापार बाँडिएर माग कम आपूर्ति ज्यादाको अवस्था रहेको उनले जानकारी दिए।
नक्शालस्थित मेरियोट होटलका संचालक शशीकान्त अग्रवालले अमेरिकी अनुदान रोकिँदा विशेष गरी ४ तार र ५ तारे होटल मारमा परेको बताए। अमेरिकी अनुदानमा दैनिक एउटा कार्यक्रम संचालन हुँदै आएको जानकारी दिँदै उनले डोनाल्ड ट्रम्पको आदेशपनि होटेलले व्यापार गुमाएको बताए।

‘यहाँको जति पनि अमेरिकी एडमा संचालित आयोजनाहरूको अनुगमन, कार्यक्रम भइरहँदा होटलको व्यवसायमा टेवा पुग्दै आएको थियो। नेपाल आर्मीसँगको सहकार्यमा मरिनहरू आउने गर्थे, त्यो पनि अब बन्द भएको छ,’ उनले भने, ‘हाम्रो १५ प्रतिशत बिजनेस अमेरिकाबाटै पाइरहेका थियौँ। यो स्वाहा भयो।’
यसका कारण होटलले वार्षिक करिब ५० करोड रुपैयाँ गुमाउने उनले जानकारी दिए।
ट्रम्पको आदेशपछि वैदेशिक साहयतामा चल्दै आएका कार्यक्रम, सभा, सम्मेलन धमाधम रद्द हुँदै गएको होटल व्यवसायीले जनाएका छन्।
सामान्यतया यूएसएआइडीको कार्यक्रमका लागि प्रति कोठा १०० अमेरिकी डलरभन्दा बढी रेट निर्धारण हुँदै आएको छ। यसमा पनि सभा समारोहका लागि प्रति व्यक्ति ३ हजार ५०० रुपैयाँभन्दा माथि मूल्य निर्धारण हुँदै आएको छ।
होटल उद्योगमा २५ प्रतिशत योगदान दिँदै आएको यस्ता कार्यक्रम धमाधम रद्द हुँदै आएको कुपण्डोलस्थित होटल हिमालयले जनाएको छ।
‘अहिले यसैपनि होटल उद्योग व्यवसाय सोचेजस्तो चलिरहेका छैनन्। तर अमेरिकी अनुदान रोकिएर यहाँ हुने कार्यक्रम गुम्दा ठूलै प्रभाव पर्न सुरु भइसकेको छ,’ होटल हिमालयका संचालक दिनेश तुलाधरले भने, ‘हामीले अहिले डेटा निकालिसकेका छैनौँ। तर ४ साता यता करिब १ दर्जन ठूला इभेन्टका बुकिङ रद्द भइसकेका छन्।’
अमेरिकाको यो निर्णयले भइरहेको र आइरहेको अधिकांश कार्यक्रम तत्काल रद्द भएको उनले जानकारी दिए।
उपत्यका बाहिरका होटेललाई पनि तनाव

आइएनजीओको कार्यक्रमका भरमा ४० प्रतिशत आम्दानीमा गर्दै आएका सुर्खेतका होटल व्यवसायी यतिखेर अलमलमा परेका छन्। सुर्खेतमा रहेका आधा दर्जनभन्दा बढी होटलको ९० प्रतिशत अकुपेन्सीमध्ये ४० प्रतिशत एनजीओ तथा आइएनजीओबाट हुँदै आएको होटल दि नमस्तेका प्रबन्धक रेशम बहादुर भण्डारीले बताए।
‘करिब १ महिना यता यूएसएआइडीका कार्यक्रम रद्द हुँदै आएकोले होटलको बिजनेस पनि कम भइसकेको छ। यहाँका होटलहरू एनजीओ आइएनजीओकै भरमा चल्दै आएका थिए,’ उनले भने, ‘प्रत्यक्ष असर परिरहेको अवस्थामा यहाँबाट खपत हुँदै आएको स्थानीय खाद्य सामाग्री उपभोग नै ठप्प भएपछि आर्थिक चक्रमै प्रभाव परेको अवस्था छ।’
यूएसएआइडीअन्तर्गतको काम बन्द भएसँगै योसँग जोडिएका संस्थाले पनि होटलमा कार्यक्रम गर्न छोडेको उनले जानकारी दिए।
सौराहामा विदेशी दात्री संस्थाका कार्यक्रम आउन बन्द भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए। ट्रम्पको आदेशलगत्तै सौराहामा आयोजना हुँदै आएका सभा सम्मेलन लगायत कार्यक्रमको माग नै कम आएको उनले जानकारी दिए।

‘सभा, सम्मलेन, गोष्ठीमार्फत ३० प्रतिशत व्यापार हुँदै आएको थियो। कार्यक्रम नहुँदा व्यापारमा असर पर्न थालिसकेको छ। अकुपेन्सी दर निरासाजनक छ,’ उनले भने, ‘अब एनजीओ आइएनजीओबाट आइरहेको कार्यक्रम पनि बन्द भएपछि व्यापार व्यवसाय थप प्रभावित हुने देखिएको छ।’
पश्चिमका नेपालगञ्ज, दाङ, सुर्खेत लगायत गन्तव्यमा संचालित होटल उद्योगको प्रमुख व्यवसाय नै यूएसएआइडीअन्तर्गतका कार्यक्रम रहेको सिद्धार्थ हस्पिटालीटी समूहका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।
‘मुलुकमा संचालन हुँदै आएका एनजीओ आइएनजीओको कार्यक्रम चल्ने भनेकै होटलमा हो। सरकारी र निजी संस्था यूएसएआइडीसँग जोडिएका छन्,’ उनले भने, ‘यस्ता कार्यक्रम बन्द भएपछि मुलुकको होटल उद्योगमा ठूलै प्रभाव पर्ने देखिएको छ। लामो समयसम्मको बुकिङ रद्द भइसकेको अवस्था छ।’
होटल उद्योगमा यूएसएआइडीबाट मात्रै ५० देखि ६० प्रतिशत योगदान रहेको एक व्यवसायीले बताए। जर्मन नियोग जीआइजेड जस्ता संस्थाले आयोजना गर्दै आएका कार्यक्रम पनि पातलिन थालेका छन्।