
काठमाडौं। पछिल्लो ६ महिनामा काठमाडौं उपत्यकामा मात्रै पाँचवटा पाँच तारे होटल संचालनमा आएका छन्। अन्तर्राष्ट्रिय चेन होटलसँग आवद्ध भएर संचालनमा आएका ती होटलमा ७८६ वटा कोठा छन्।
विश्वप्रसिद्ध नामी चेन होटल हिल्टन, मर्क्योर, म्यासिभ, लेमन ट्री प्रिमियर र होटल होलिडे इन ६ महिनाको बीचमा संचालनमा आएका हुन्। यसबाहेक चार तारे होटल उपत्यकामा प्रत्येक महिना थपिएको थपियै छन्।
अर्बौं रुपैयाँ लगानीमा होटल थपिए पनि पर्यटकको संख्या बढेको छैन। त्यही कारण पुरानादेखि नयाँ होटलका कोठा अहिले रित्तै छन्। पर्यटक अभावमा होटल लगभग खाली छन्।
नेपाल पर्यटन बोर्डकै तथ्यांक अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक भित्रिए। ती पर्यटकमध्ये अधिकांश पाँच तारे होटलमा बसेनन्। पुराना होटल व्यवसायीका अनुसार पाँच तारे होटलमा धेरै खर्च गर्ने पर्यटकको संख्या बढेको छैन।
पर्यटक नबढेको पृष्ठभूमिमा होटल ह्वारह्वार्ती खुलेपछि अहिले पाँच तारे होटलमा ‘कटथ्रोट’ प्रतिस्पर्धा सुरु भएको छ। नेपाल भित्रिने पर्यटक आफ्नो होटलमा भित्र्याउन मूल्य घटाघटमा लिने प्रतिस्पर्धा सुरु भएको छ।

व्यवसायीहरुका अनुसार अहिले अधिकांश होटलको अकुपेन्सी ३० प्रतिशतमा झरेको छ। ३० प्रतिशत अकुपेन्सीमा संचालन खर्च पनि उठ्दैन। नयाँ होटलले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पनि आफ्नो खल्ती प्रयोग गर्नुपर्ने अवस्था छ।
‘पाँच तारे होटलमा ४ अर्ब रुपैयाँसम्म लगानी भएको छ। नयाँ आएका होटलका अधिकांश कोठा खाली छन्,’ एकजना पुराना होटल व्यवसायीले बिजमाण्डूसँग भने, ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नसक्ने अवस्था छैन। त्यही भएर उनीहरुले अहिले घटाघटमा रुम बेचिरहेका छन्। त्यो भनेको पनि होटल व्यवसाय नै सफर गर्ने हो।’

अहिले केही पाँच तारे होटलले १० देखि १५ हजारभित्रमा खानासहितको प्याकेज अफर गरिरहेका छन्। अकुपेन्सी घटेकै कारण होटलले १० हजार रुपैयाँभन्दा कम मूल्य घटाएर यस्ता अफर आएका हुन्।
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले पर्यटक नबढ्ने तर होटल थपिने भइरहँदा समस्या भएको स्वीकार गरे। उनले पर्यटकको संख्या बढाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘दूरदर्शिताको कमी भयो। माग र आपूर्तिको विश्लेषण राम्रो भएन,’ उनले भने, ‘राज्यले पनि हवाई यातायातलाई सस्तो बनाउनेतर्फ ध्यान दिनुपर्यो।’
चापागाइँका अनुसार वार्षिक ३० लाख पर्यटकलाई सेवा दिन सक्ने गरी होटल संचालनमा आएका छन्। तर पर्यटकको संख्या १२ लाख पनि पुगेको छैन। उनका अनुसार सोल्टीकै अकुपेन्सी ५० प्रतिशतभन्दा कम छ।

‘गत वर्षको तुलनामा पर्यटकको संख्या वृद्धि भएको छैन। तर १०० भन्दा बढी कोठा क्षमता भएका आधा दर्जनभन्दा बढी ५ तारे होटल सञ्चालनमा आइसकेका छन्,’ उनले भने, ‘डेढ सय कोठाका दरले ७ वटा होटलले १ महिनामा मात्र ३१ हजार रुम बिक्री गर्न सक्छन्। वार्षिक ४ लाख पर्यटक त ७ वटा होटलले कभर गर्छन्। तर यहाँ भित्रिने पर्यटक संख्या १० लाखकै सेरोफेरोमा छ।’
काठमाडौं मेरियोट होटलका सञ्चालक शशीकान्त अग्रवालले होटलको अकुपेन्सी ३० प्रतिशतभन्दा कम रहेको बताए। ‘होटल उद्योगको अवस्था अहिले डामाडोल छ। यो क्षेत्र विस्तारै कहालीलाग्दो अवस्थामा पुगेको छ,’ उनले भने।