बिराटनगर। विराटनगर महानगरपालिकाले पशुपन्छी सेवा शाखामा गाईको कृत्रिम गर्भाधान, गोबर परीक्षण, बोका खसी पारेको र अन्य परीक्षण शुल्कमा समेत अचाक्ली वृद्धि गरेपछि किसानहरू रकमको अभावमा सेवा लिन नसकी फर्किन थालेका छन् ।
विराटनगरको जिल्ला पशु सेवा कार्यालय पशुपन्छी सेवा शाखाका नामले महानगरपालिकामा समायोजन भएपछि चालु आर्थिक वर्षदेखि त्यहाँको शुल्क एक हजार गुनासम्म वृद्धि गरिएको हो ।
विराटनगर वडा नम्बर १२ की ओमी ऋषिदेवले रकमका अभावमा आफूले गाईको कृत्रिम गर्भाधान गराउन नसकी फर्काएको बताइन् ।
‘पहिले त यही कार्यालयमा २५ रुपैयाँमै गराएकी थिएँ’, ओमीले भनिन्, ‘अहिले २२५ रुपैयाँ बनाइएको रहेछ । त्यत्रो रकम लिएर आएकी थिइँन । अब गाउँटोलमै साँढे खोजेर लगाउनु पर्ला ।’
साँढेको वीर्य संरक्षण गर्न नाइट्रोजन नामको केमिकल चाहिने हुँदा यसका लागि असार मसान्तसम्म नाइट्रोजनका लागि कृत्रिम गर्भाधानमा २५ रुपैयाँ लिने गरेको शाखाका प्राविधिक ऋषभ अर्यालले बताए ।
अर्यालका अनुसार साउन लागेयता शुल्क बढेपछि कृत्रिम गर्भाधान र गोबर परीक्षण गराउने, बोका खसी पार्ने तथा अन्य परीक्षणका लागि आउने किसानको सङ्ख्या ह्वात्तै घटेको छ ।
शाखामा पहिले कृत्रिम गर्भाधान गराउन किसानले दैनिक २० भन्दा बढी गाई ल्याउने गर्थे । साउन लागेपछि पाँच–सात वटा मात्र आइरहेछन् । त्यस्तै दैनिक ५० भन्दा बढी किसानले गोबर जाँच गराउँथे । साउनयता दैनिक १० जना जतिले मात्र परीक्षणका लागि गोबर ल्याइरहेछन् । गोबर परीक्षणको शुल्क पनि महानगरले १० बाट १ सय रुपैयाँ बनाएको छ ।
‘गाईले साँढे खोजेका बेला २४ घण्टाभित्र कृत्रिम गर्भाधान गरिएन भने त्यत्तिकै टर्छ, फेरि गर्न सकिन्न’, उनले भने, ‘फेरि कम्तीमा २१ दिन पर्खनु पर्छ । त्यो बेला गाईले साँढे नखोज्न पनि सक्छ ।’
महानगरले साधारण ठूला पशुको साधारणको जाँचको १० बाट १ सय, बोका खसी पारेको १५ बाट १ सय, सानो पशुको साधारण जाँचको ५ बाट ५०, कुकुरको जाँचको २५ बाट २ सय र पोस्टमार्टमको २ सय ५० को ५ सय रुपैयाँ बनाएको छ ।
महानगरलपालिकाले सेवा शुल्कमा अत्यधिक वृद्धि गरे पनि किसानहरू विशेषज्ञको सेवाबाट भने वञ्चित भएका छन् ।
स्थानीय तहमा समायोजन हुनुअघि जिल्ला पशु सेवा कार्यालयमा उपसचिव स्तरका एक वरिष्ठ चिकित्सक र अधिकृतस्तरका दुई चिकित्सकसहित चार प्राविधिक सहायक कार्यरत थिए ।
समायोजनपछि उपसचिव स्तरका वरिष्ठ चिकित्सक र अधिकृत स्तरका दुबै चिकित्सकको सेवा शाखाबाट हटाइएको छ ।
कार्यालय महानगरपालिकामा समायोजन भएपछि चार जना प्राविधिक सहायकले सेवा दिन थालेका छन् । विशेषज्ञको सेवा हटेपछि शुल्क घट्नुपर्नेमा महानगरपालिकाले भने एक हजार प्रतिशत वृद्धि गरेको छ ।