सेबोनका नवनियुक्त अध्यक्षको प्राथमिकता नयाँ स्टकको लाइसेन्स, ‘राम्रै तयारी गरेको छु’



बिजमाण्डू
२०८१ मंसिर १० गते १९:५२ | Nov 25, 2024
सेबोनका नवनियुक्त अध्यक्षको प्राथमिकता नयाँ स्टकको लाइसेन्स, ‘राम्रै तयारी गरेको छु’


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सरकारले व्यवसायी सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। अध्यक्षको नियुक्ति नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयले निकै पेचिलो बन्न पुगेकामा सरकारले ११ महिनापछि सेबोनमा नयाँ नेतृत्व छानेको हो।

Vigo
GBIME
Tata

नवनियुक्त अध्यक्ष श्रेष्ठसँग सार्वजनिक निष्कासन, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स, पुँजीबजारको सुधार लगायत विषयमा केन्द्रित रहेर बिजमाण्डूका सुनिल कुँवरले सोधे सार्वजनिक निष्कासनका लागि आवेदन दिएका फाइलहरु लामो समयदेखि पेन्डिङमा छन्। कतिपय विवादित पनि छन्। यसलाई कसरी अघि बढाउनु हुन्छ?

अफिस जोइन गरेदेखि नै सेबोनमा सार्वजनिक निष्कासनका अड्किएका विषयहरुमा लाग्छु। धेरै काम गर्नुपर्नेछ। एकैपटक सबै काम गर्न सम्भव नहोला। प्रायोटाइज गरेर सबै काम गर्छु।

पुँजीबजारको नियामक सेबोनको क्षमतालाई लिएर बेलाबेलामा प्रश्न उठ्ने गरेको छ। सेबोनले बलियो नियमन गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ। त्यस्तै आइपीओ निष्कासनको स्वीकृतिमा लेनदेनको आरोप लाग्ने गरेको छ। सेबोन र समग्र पुँजीबजार सुधारका लागि यहाँको योजना के छ?

सेबोन र पुँजीबजारको सुधारका लागि राम्रैरुपमा तयारी गरेको छु। सबैको साथ लिएर एड्रेस गर्न लाग्नेछु। मार्केट र स्टेकहोल्डरको साथ लिएर समस्या समाधान गर्न लाग्नेछु।

अहिले एउटा एउटा विषयमा कमिटमेन्ट गर्नेभन्दा पनि कमीकमजोरी र चुनौती जे छन्, त्यसमा कुनै कम्प्रोमाइज हुँदैन। मेरो मुख्य उद्देश्य भनेको पुँजीबजारको निष्पक्ष पारदर्शी र दिगो विकास हो। यही लक्ष्यका साथ काम गर्नेछु।

नयाँ स्टक एक्सचेन्जको विषय पनि निकै पेचिलो बनिरहेको छ। तपाईं लाइसेन्स दिने पक्षमा हो?

पुँजीबजारको विकासका लागि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनेदेखि धेरै काम गर्नुछ। लाइसेन्स मेरो पहिलो प्राथमिकता हो। म नेपाल सरकारको निर्देशन र बजारको आवश्यकता अनुसार चल्नेछु।