काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति गर्ने तयारी गरेको छ। सरकारले सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्ने तयारी गरेको हो।
अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोन अध्यक्ष नियुक्त गर्ने तयारी छ। ‘सिफारिस समितिले आज तीन जनाको नाम सिफारिस गर्छ। त्यो सिफारिस अर्थमन्त्रीज्यूले सोमबारको मन्त्रिपरिषद् बैठकमा लाने तयारी छ,’ मन्त्रालय स्रोतले भन्यो।
सेबोन अध्यक्ष नियुक्तिका लागि आवेदन दिएर सर्टलिस्टमा परेका ५ जनामध्ये ४ जनाबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजक रहेको समितिले तीन जनाको नाम सिफारिस गर्न लागेको हो।
यसअघि दुई पटक अनुपस्थित भएका सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्ता दिएका छन्। अधिकारीले सुरुमा र त्यसपछि कार्कीले अन्तर्वार्ता दिएका हुन्।
सेबोन अध्यक्षका लागि आवेदन दिएका बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ तेस्रो पटक पनि गयल भएका छन्। समितिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि आइतबार बिहान चापागाईं, अधिकारी र कार्कीलाई बोलाएको थियो।
समितिले यसअघि गत असोज १८ गते अन्तर्वार्ताको मिति तोकेकामा समितिका संयोजक प्राडा. अधिकारी अचानक ‘बिरामी’ परेका कारण प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
सेबोन अध्यक्षका लागि १९ जनाले आवेदन दिएकामा सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले अघिल्लै सरकारका पालामा असार २ गते अन्तर्वार्ता दिएका थिए। अघिल्लो सरकारका पालामा चापागाईं, अधिकारी र कार्की भने २ पटकसम्म गयल भएका थिए।
कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने तर दुईजना मात्र अन्तर्वार्तामा सहभागी भएका कारण समितिले यसअघि सिफारिस गर्न सकेको थिएन।
अघिल्लो सरकारका पालामा तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले नियुक्ति गर्न कानुनी अड्चन नभएको राय दिए पनि सिफारिस समितिमा नै विवाद भएपछि प्रक्रिया रद्द भएको थियो।
प्रक्रिया रद्द गरेको विरोधमा अन्तर्वार्तामा सहभागी सन्तोषनारायण सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो। यो मुद्दा अदालतमा विचाराधीन नै छ।
सर्वोच्चले सुनुवाइका लागि माघमा पेसी तोकेको छ। त्यो बेलासम्म अध्यक्ष नियुक्त नगर्दा सेबोनका धेरै काम प्रभावित हुने भन्दै अर्थमन्त्री विष्णु पौडेलले राय मागेपछि महान्यायाधिवक्ता रमेश बडालले पनि प्रक्रिया अगाडि बढाउन मिल्ने पत्र पठाएपछि समितिले आइतबार अन्तर्वार्ता लिएको हो।
अघिल्लो सरकारका पालामा नै अन्तर्वार्ता दिएका मुक्ति र सन्तोषनारायणमध्येबाट एक जनालाई अध्यक्ष बनाउने पक्कापक्की रहेको स्रोतले बतायो। स्रोतका अनुसार अघिल्लो सरकारका पालामा सन्तोषनारायण बलियो दबेदार भएपनि अहिले मुक्तिको पक्षमा माहोल छ।
‘अघिल्लो सरकारका पालामा जुन समूहले सन्तोषनारायणलाई नियुक्त गर्न दबाब दिएको थियो त्यो समूहले अहिले मुक्तिको पक्षमा माहोल बनाएको छ। यसअघि सन्तोषको नियुक्ति हुने देखेर ३ जना अन्तर्वार्तामा गयल भएका थिए। त्यसैले उनलाई नियुक्त गर्दा विवाद हुन सक्ने भयले त्यो समूहले मुक्तिको पक्षमा माहोल बनाइरहेको छ। यसमा राजनीतिक नेतृत्व पनि सकारात्मक छ,’ स्रोतले भन्यो।
नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि पूर्वअर्थमन्त्री वर्षमान पुनले सेबोन अध्यक्ष नियुक्तिमा स्वार्थ समूहको कुरा नमान्दा माओवादी नेतृत्वको सरकार ढलेको बताउँदै आएका छन्। त्यही कारण पनि सन्तोषनारायणको साटो मुक्तिलाई अगाडि सारिएको हो।
सुरुमा सन्तोषनारायणलाई अगाडि सारेको समूह मुक्तिले यसअघिका अध्यक्ष रमेश हमालसँग निकट रहेर काम गरेका कारण पनि अहिले उनको पक्षमा लागेको हो।
मुक्तिलाई अगाडि सार्नका लागि सन्तोषनारायणलाई मनाइएको स्रोतको दाबी छ। उनलाई नेपाल स्टक एक्सचेन्ज, बीमा प्राधिकरण र नेपाल विद्युत प्राधिकरणमध्ये रोजेको ठाउँमा नियुक्ति दिने भनिएको छ।
सिफारिस समितिले आइतबार बिहान २ जनाको अन्तर्वार्ता लिनुअघि ऊर्जामन्त्री दीपक खड्काले भैंसेपाटी पुगेर अर्थमन्त्री पौडेललाई भेटेका थिए।
सेबोन गत पुस २१ देखि अध्यक्षविहीन छ। प्रतिनिधि सभाको अर्थ समितिले तत्काल अध्यक्ष नियुक्त गर्न साउन २४ गते सरकारलाई निर्देशन दिएको थियो।










