ओलीविरुद्ध अभिव्यक्तिको आधारमै समातिएका हुन् दुर्गा प्रसाईं? प्रमाणित भए कति वर्ष जेल सजाय?

बिजमाण्डू
२०८१ मंसिर ४ गते १४:१६ | Nov 19, 2024
ओलीविरुद्ध अभिव्यक्तिको आधारमै समातिएका हुन् दुर्गा प्रसाईं? प्रमाणित भए कति वर्ष जेल सजाय?


काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको प्रहरीले उनीविरुद्ध साइबर अपराधसँगै अन्य मुद्दामा पनि अनुसन्धान गर्ने तयारी गरेको छ।

Tata
GBIME
NLIC

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मंगलबार बिहान भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रसाईंलाई प्रहरीले ब्यूरोको कार्यालय लाजिम्पाटमा ल्याएको छ। उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान हुनेछ।

‘अहिलेलाई साइबर अपराधमा अनुसन्धान हुनेछ। त्यसपछि खुल्दै गएका खण्डमा अन्यमा पनि अनुसन्धान हुनसक्नेछ,’ सीइआबी प्रमुख एआइजी दीपक थापाले भने।

सोमबार प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयलाई लिएर अभिव्यक्ति दिएपछि सुरक्षा निकायको ‘टार्गेट’मा परेका हुन्। अहिले सामाजिक सञ्जालमा प्रसाईंले दिएको अभिव्यक्तिको भिडियो भाइरल भएको छ। उनले प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी रहेको बताउँदै आएका थिए। सोमबार भने ओलीको ३२ अर्ब रुपैयाँ लगानी भएको कागजपत्र भन्दै सार्वजनिक गरेपछि उनको पक्राउको माहोल बनेको हो।

‘अस्ति १५ अर्ब मिनाहा किन भयो भन्नुहुन्छ नि ऐनसेलको!  एनसेलको हेड अफिस भनेको कम्बोडियामा हो। यसमा पनि ८० प्रतिशत लगानी एमाले (केपी शर्मा ओली)को छ,’ प्रसाईँले भिडियोमा भनेका छन्।

उनको दाबी अनुसार प्रधानमन्त्रीको कम्बोडियामा लगानी भएको प्रमाण जुटाउन १ करोड साढे ११ लाख रुपैयाँ खर्च भएको समेत बताएका छन्। उनी यतिमा नै अडिदैंनन् प्रमाण दिने मानिसलाई समातेर मारिसकेको दाबी समेत गर्न भ्याएका छन्। उनले त्यही क्रममा केपी ‌ओलीलाई वरपरको गार्डले नै ठेगान लगानुपर्ने अभिव्यक्ति दिएका छन्।

उनले प्रस्तुत गरेको प्रमाण नक्कली भएको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनले सार्वजनिक गरेको प्रमाणमा केपी शर्मा ओलीको नामदेखि हस्ताक्षर समेत फरक परेको देखिएको छ।

सोही अभिव्यक्तिकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो त?

‘त्यति मात्र होइन। केही प्रारम्भिक अनुसन्धानमा देखिएपछि मात्र नियन्त्रणमा लिएका हौं,’ एआइजी थापाले भने।

प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गर्ने देखिएको छ। यो प्रमाणित भएको खण्डमा उनलाई पाँच वर्षसम्म कैद हुन सक्छ। त्यस्तै पटक पटक अपराध गरेको पुष्टी भएमा डेढी सजाय हुने व्यवस्था रहेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले दुर्गा प्रसाईंलाई गत असोज ६ गते पनि उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो। एक महिलाको चरित्र हत्या आरोपमा पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतले आदेश दिएर छुटेपछि पनि उनले विवादित अभिव्यक्ति दिन भने छाडेका थिएनन्।