तीन किलो सुन बीचबाटोमा ‘लुटिएको’ प्रकरण : भरियादेखि प्रहरीसम्म अनुसन्धानमा

सविन ढकाल
२०८१ मंसिर ३ गते १७:४५ | Nov 18, 2024
तीन किलो सुन बीचबाटोमा ‘लुटिएको’ प्रकरण : भरियादेखि प्रहरीसम्म अनुसन्धानमा


काठमाडौं। रामकृष्ण वाइबा रसुवाबाट काठमाडौंमा चल्ने गाडीका चालक हुन्। साउन २४  गते रसुवाबाट काठमाडौं आउने क्रममा उनले चलाएको गाडीमा भएको सुन लुटियो। केही रकम दिने आश्वासनमा उनको गाडीमा चीनबाट तस्करी गरिएको सुन राखिएको थियो।

Tata
GBIME
NLIC

रामकृष्ण बालाजुमा पक्राउ परे। सशस्त्र प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले उनलाई नियन्त्रणमा लियो। गाडीमा खानतलासी गर्दा सुन भेटिएन। विभागलाई आएको सूचनाका आधारमा उनलाई एक महिनासम्म हिरासतमा राखेर अनुसन्धान गरियो।

‘हामीलाई गाडीमा सुन छ भन्ने सूचना थियो। त्यसैले हामीले गाडी खानतलासी गरेर चालकलाई नियन्त्रणमा लिएका हौं,’ विभागका एक कर्मचारीले भने। विभागलाई रसुवाबाट प्रहरीले खबर गरेको थियो।

रामकृष्णले सुन धादिङको खानी खोलामा नै लुटिएको कथा सुनाए। उनले मोटरसाइकलमा आएका युवा सुन लुटेर फरार भएको बयान दिए। त्यसपछि अनुसन्धान अगाडि बढ्न सकेन। सुन तस्कर समूह भने रामकृष्णको रिहाइ कुरिरहेको थियो।

तस्करीका केही घटनामा भरियाले नै सुन लुकाउने अनि लुटिएको नाटक गर्ने गरेका उदाहरण छन्।

२०७४ मा विदेशबाट आएको ३३ किलो सुन हराएको थियो। अहिलेसम्म सुन कसले लग्यो भन्ने खुल्न सकेको छैन। थाई एयरलाइन्सबाट आएको ३३ किलो सुन गायब गरेको आरोपमा चुडामणि उप्रेती (गोरे) नेतृत्वको तस्कर समूहले मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो।

रामकृष्ण रिहा हुने बित्तिकै अपहरणमा परे। उनलाई असोज ४ गते बालाजु माछापोखरीबाट अपहरण गरेर बुढानीलकण्ठमा रहेको शैलजा रिसोर्ट पुर्‍याइयो।

अपहरणमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कात्तिक ३० गते चार जनालाई पक्राउ गर्‍यो।

रसुवाका बुद्धिबहादुर तामाङ, नुर्पु तामाङ, ठेम्पा नुर्पु तामाङ र गोपाल तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले अपहरण तथा शरीर बन्धकको मुद्दामा अनुसन्धान गरिरहेको छ।

‘उजुरी परेपछि हामीले पक्राउ गरेका हौं। सुनसँग जोडिएको घटना देखिएकाले थप अनुसन्धान भइरहेको छ,’ कार्यालयका एसपी काजीकुमार आचार्यले भने।

यस घटनामा नेपाल प्रहरीका एक असई समेत तानिएका छन्। रसुवाबाट काठमाडौं हिंडेको गाडीमा सुन रहेको सूचना उनैले दिएका थिए। तर, उनको भूमिका शंकास्पद देखिएको छ।

यो प्रकरणमा प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा समिति बनाएर छानबिन गरिरहेको छ। प्रहरीको अनुसन्धान अनुसार सुन ल्याउँदै गरेको जानकारी रामकृष्णले मामाका छोरालाई सुनाएका हुन्छन्। मामाका छोराले कमिसनको लोभमा असइलाई सूचना दिएको खुल्छ।

मोटरसाइकलमा आएका युवाले सुन लुटेको भनिए पनि उनी अहिलेसम्म फेला नपरेकाले घटनाको अनुसन्धान अहिले रामकृष्ण, उनका मामाका छोरा र असईमा केन्द्रित छ।