रवि लामिछानेसँग दैनिक ६ घण्टासम्म बयान, तेस्रो दिन पनि सरकारी वकिल कार्यालयमा

बिजमाण्डू
२०८१ कात्तिक २९ गते १३:३१ | Nov 14, 2024
रवि लामिछानेसँग दैनिक ६ घण्टासम्म बयान, तेस्रो दिन पनि सरकारी वकिल कार्यालयमा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग तेस्रो दिन बिहीबार पनि बयान जारी छ।जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीमा बयान जारी रहेको प्रहरीले जनाएको छ।

Tata
GBIME
NLIC

बुधबार बिहानदेखि साँझ करिब ६ बजेसम्म बयान भएको थियो। मंगलबार पोखराबाट बुटवल लगिएका लामिछानेसँग सोही दिनबाटै बयान लिन थालिएको हो। त्यस क्रममा बयान लम्बिएको छ। उनीसँग अहिलेसम्म करिब ११ घण्टा बयान भइसकेको छ। सुप्रिम सहकारी ठगीमा बयान भइरहेको हो।

गोर्खा मिडिया प्रालिका सञ्चालक रहेका लामिछानेमाथि ठगीको आरोप लगाइएको छ। सहकारी ठगीमा उनले आफ्नो संलग्नताबारे इन्कारी बयान दिँदै आएका छन्। कम्पनीमा कसरी र कहाँको पैसा आयो भन्ने आफू जानकार नभएको उनको दाबी छ।

कात्तिक २ गते कास्की प्रहरीको अनुरोधमा काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर पोखरा लगिएको थियो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरामा पूरक अनुसन्धान भइरहेको छ। कास्की प्रहरीले लामिछानेको बयान लिइसकेको छ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ। त्यस्तै गोर्खा मिडियामा रुपन्देहीको सुप्रिम, कास्कीको सूर्यदर्शन, वीरगंजको सानो पाइला, चितवनको सहारा र काठमाडौंको स्वर्णलक्ष्मीबाट रकम गएको देखिएको छ। यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड रुपैयाँ आएको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ।

त्यसैको आधारमा प्रहरीले लामिछानेलाई विभिन्न जिल्लामा पुर्‍याएर अनुसन्धान गरिरहेको हो। रवि लामिछानेसँगै गोर्खा मिडियाका अर्का सञ्चालक पूर्व डीआइजी छविलाल जोशी पनि कास्की हिरासतमा छन्। रुपन्देहीमा बिहीबार बयान सकिएको खण्डनमा प्रहरीले रवि लामिछानेलाई पुनः पोखरा ल्याउने तयारी गरेको छ।