
काठमाडौं। ग्राहकले लामो समयदेखि पर्खिएको बीवाइडीको सिगल गाडी नेपाल भित्रिएको छ। बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिगल एउटा युनिट ल्याएको हो। गाडी रसुवा भन्सारमा आइपुगेको छ।
कम्पनीले सिगल परीक्षणका लागि ल्याएको स्रोतले बताएको छ। ‘अहिले हामीले सिगल एक युनिट मात्रै ल्याएका छौं,’ कम्पनीका एक कर्मचारीले भने, ‘यसलाई नेपालका सबै टेरेनमा टेस्टिङ गर्ने लक्ष्य छ।’
साइमेक्स इंकले सिगल बिक्रीमा राख्नका लागि भने केही समय लाग्नेछ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिगल नेपाली बजारमा लन्च गर्ने कम्पनीको तयारी छ।
बीवाइडीले नयाँ इलेक्ट्रिक ह्याचब्याकलाई गत वर्ष संघाईमा भएको अटो एक्स्पोमा नै सार्वजनिक गरेको थियो। नेपालमा भने साइमेक्स इंकले नै सिगल ढिला गरी मगाएको हो।
‘सिगलका कारण अरु ब्राण्डका गाडीको बिक्रीमा असर नपरोस् भनेर हामीले जाजाजान नै ढिला मगाएका हौं। अहिले परीक्षणका लागि एक युनिट ल्याएका हौं। डेढ महिना अगाडि बिक्रीमा राख्दैनौं,’ कम्पनीका एक उच्च कर्मचारीले भने।
ह्याचब्याक खोज्नेलाई कम्पनीले विकल्प दिन खोजेको हो। बीवाइडीको ह्याचब्याक ओसन सिरिजमा आधारित ३.० प्लेटफर्ममा निर्माण गरिएको छ।
कम्पनीका अनुसार यो ह्याचब्याकमा ३० किलोवाट आवर क्षमताको सोडियम आयन ब्याट्री छ। जसलाई पावर दिन ५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर उपलब्ध छ। ब्याट्री एक पटकको फुल चार्जमा गाडी ३०५ किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ।
यस्तै, यसमा विकल्पमा अर्को ब्याट्री पनि उपलब्ध हुनेछ। ३८ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसको इन्टेरियरमा ५ इन्च र १२.८ इन्च दुईवटा स्क्रिन छ। फ्ल्याट बटमसहितको स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, दुई कप होल्डर गाडीका विशेषता हुन्। ४ सिटर गाडीको मूल्य कम्पनीले तोक्न बाँकी छ। स्रोतका अनुसार मूल्य ३० लाख रुपैयाँभित्र हुनेछ।