काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा किनबेचमा लाग्ने लाभकरको सीमा १० लाख रुपैयाँ झारेसँगै उपत्यका लगायत देशका विभिन्न शहरोन्मुख क्षेत्रमा पूँजीगत लाभकर छल्ने सबै बाटो बन्द भएको छ।
यसअघि ३० लाख रुपैयाँ माथिको कारोबारमा मात्रै पूँजीगत लाभकर लाग्ने कानुनी व्यवस्था रहेको थियो। उपत्यकामा व्यावसायीहरुले लाभकर छल्न जग्गा टुक्रा पारेर २९ लाख रुपैयाँ थैली रकम कायम गर्दै कारोबार गर्ने गरेका थिए।
यसरी कारोबार गर्दा लाभकरबाट आउने ठूलो रकम गुम्दै गएको थियो। अब भने १० लाख रुपैयाँको कारोबारमा लाभकर लाग्ने भएपछि उपत्यकाका लगभग ९० देखि ९५ प्रतिशत कारोबारमा पूँजीगत लाभकर अनिवार्य लाग्ने मालपोत कार्यालय डिल्लीबजारमा पूर्व मालपोत प्रमुख पद्दनिधि सोतीले बताए।
उपत्यकामा सस्तो जग्गाको मूल्य पनि प्रतिआना पाँच लाख रुपैयाँ घटी छैन। दुई आना दुई पैसाभन्दा साना जग्गा किनबेच नहुने भएपछि लाभकर छल्ने सबै बाटो बन्द भएको छ।
कृषियोग्य जमीनमा घरघडेरी निर्माण गर्न नदिने र शहरी क्षेत्रमा पर्ने जमीनको मूल्याङ्कननै महंगो हुने भएकाले लगभग सबैजसो कारोबारमा लाभकर लाग्ने देखिएको सोतीले बताए।
पहाडी क्षेत्रमा पनि रोपनीको १० लाख रुपैयाँमा कारोबार हुने गरेको छ। त्यस्तै अतिविपन्न ठाउँमा मात्रै १० लाख रुपैयाँको कारोबार नहोला तर देशभरको ८० प्रतिशत कारोबारमा लाभकर लाग्ने देखिएको छ।
दिनहुँ किनबेच हुने जग्गा शहरी क्षेत्रकै हुन। कृषियोग्य जमीन ५/१० वर्षको अन्तरालमा मात्रै किनबेच हुने गर्छन्। त्यसैले पनि अर्को वर्षदेखि पूँजीगत लाभकरको हिस्सा अत्याधिक बढ्ने उनले बताए।











