क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह- ‘नेपाली ऊर्जा बजार सुनिश्चित, लगानी गरौं’

बिजमाण्डू
२०८१ असोज ९ गते १४:२० | Sep 25, 2024
क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह- ‘नेपाली ऊर्जा बजार सुनिश्चित, लगानी गरौं’

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडियन लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानी गर्न आग्रह गरेका छन्। क्यानेडिएन ड्याम एसोसिएसनले आयोजना गरेको ड्याम सुरक्षासम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले उक्त आग्रह गरेका हुन्।

Tata
GBIME

नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेको उनले बताए।

विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरू अध्ययनको विभिन्‍न चरणमा रहेको उनले उल्लेख गरे।

‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको रोडम्याप अघि सारेको छ। नेपालको जलविद्युत् उत्पादन क्षमता कम्तीमा ७२ हजार मेगावाट छ,’ उनले भने, ‘यसका लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकाले क्यानेडियन लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न आग्रह गर्दछु।’

नेपालमा विद्युत् उत्पादन गरे बजार पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए।

हाल भारतमा १ हजार मेगावाट विद्युत् निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातका लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको उनले जानकारी गराए। ४० मेगावाट विद्युत् थोरै लागे पनि बंगलादेशको विद्युत् माग पूरा गर्न सन २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए।

दुई ठूला उदीयमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युत्को माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकाले नेपालको जलविद्युत्मा गरिएको लगानीले राम्रो प्रतिफल दिनेमा उनले क्यानेडियन लगानीकर्तालाई आश्वस्त पारे।