केरुङ-काठमाडौं रेलमार्ग: विस्तृत अध्ययन अनुदानमा, खोप लगाएर चिनियाँ आउँदै

बिजमाण्डू
२०७७ माघ १३ गते २०:१० | Jan 26, 2021

Tata
GBIME

काठमाडौं। बहुचर्चित केरुङ-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिटेल फिजिविलिटी स्टडी) अनुदानमा गरिदिन चिनियाँहरु सकारात्मक देखिएका छन्।

गत पुसमा अनुदान सहयोगमा फिजिविलिटी गरिदिन गरेको प्रस्तावमा उनीहरुले सकारात्मक जवाफ पठाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए।

उनका अनुसार, चीनमा कोरोनाविरुद्धको खोप लगाउने काम धमाधम भइरहेको छ। 'सेकेण्ड डोज' कोभिड खोप लगाएर आउने प्रतिबद्धता जनाएका छन्।

नेपालसँग  फिजिविलिटी अध्ययनका लागि स्रोत र साधन नभएका कारण चिनियाँ पक्षलाई नै थप अध्ययन गरिदिन प्रस्ताव गरिएको थियो। उक्त रेलमार्गको चिनियाँ पक्षले नै आर्थिक र प्राविधिक सहयोगमा प्रि-फिजिविलिटी अध्ययन गरिदिएका थिए।

प्रतिवेदन नेपाल सरकारलाई दिइसकेका छन्। प्रि-फिजिविलिटी अध्ययन गरिएको भएपनि थप अध्ययनको कुनै टुंगो थिएन। आयोजना अघि बढाउन मंसिरमा बसेको भर्चुअल बैठकमा चिनियाँ पक्षले आयोजना अघि बढाउन ठोस प्रस्ताव खोजेका थिए। ‍

सोही कारण थप अध्ययनको प्रस्ताव गरिएको  हो। नेपालले आयोजना नै अनुदानमा बनाइदिन आग्रह गर्दै आएको भए पनि अध्ययनकै लागि  पनि अहिलेसम्म ठोस प्रस्ताव भने पेश गरेको थिएन। जसका कारण रेलमार्गको थप अध्ययन गर्ने विषय अन्योलमा पर्दै आएको थियो। 

प्रि-फिजिविलिटी अध्ययन प्रतिवेदन अनुसार फिजिविलिटी अध्ययन लागि २ वर्ष लाग्ने अनुमान गरिएको छ। अप्ठ्यारो भूगोलमा रहेकाले विभिन्न कोणबाट अध्ययन आवश्यक पर्छ। सोही कारण समय र लागत बढी लाग्ने देखिएको हो। चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिट्युटले करिब तीन महिना अध्ययन गरेर प्रि-फिजिविलिटी अध्ययन रिपोर्ट तयार पारेको थियो। 

प्रतिवेदनले केरुङ-काठमाडौं रेल परियोजना सम्भव देखाएको थियो। रेलमार्ग करिब ७२ किलोमिटर लम्बाइको हुनेछ। यो रेलमार्ग २ खर्ब ५६ अर्ब लागत लाग्ने अनुमान रिपोर्टमा गरिएको छ।

जसको ९० प्रतिशत लिक टनेलभित्र रहनेछ। ७ वटा सुरुङमार्ग रहने छन्। जसमा सबैभन्दा लामो सुरुङ १९ किलोमिटर लामो हुनेछ। त्यसपछि १०, ७, ८ किलोमिटरका सुरुङ बन्नेछन्। सुरुङ पहाडबाट करिब २ किलोमिटर मुनी हुनेछ। भित्री भागमा सुरुङ बनाउन प्राविधिक रुपमा अन्यन्तै जोखिमपूर्ण हुने प्राविधिकहरुले बताएका छन्।

यस्तै ४ किलोमिटर खण्ड पुलमा हुनेछ। करिब ७० मिटर उचाइसम्मका पुलहरु निर्माण गर्नु पर्नेछ। रेलमार्गमा चार वटा स्टेशनहरु रहने छन्। पहिलो स्टेशन केरुङमा रहने छ। बीचमा दुई वटा र काठमाडौं टोखामा अन्तिम स्टेशन रहनेछ। टोखामा बन्ने स्टेशन पुलमाथि रहनेछ। बीचको एउटा स्टेशन सुरुङभित्र हुनेछ।

केही एलाइन्टमेन्ट समेत चेन्ज गर्नुपर्ने श्रेष्ठले बताए। उनीहरुसँग संवाद हुँदा प्रि-फिजिविलिटी अध्ययनको केही एलाइन्टमेन्ट परिवर्तन गरेर फिजिविलिटी अध्ययन हुनेछ। उनीहरु नेपाल आएपछि थप छलफल गरेर अध्ययन अघि बढाउने बताइएको छ।