६० किमि क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्दै काठमाडौं महानगर, १७५० बत्तीको टेन्डर गरिँदै

बिजमाण्डू
२०७७ पुष २५ गते १०:५२ | Jan 9, 2021
६० किमि क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्दै काठमाडौं महानगर, १७५० बत्तीको टेन्डर गरिँदै

Tata
GBIME

काठमाडौं। काठमाडौं महानगरका ८० स्थानमा बढी प्रकाश दिने 'हाइ-मास्ट लाइट' जडान गरिने भएको छ।

मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने योजना काठमाडौं महानगरपालिकाले अघि बढाएको हो। यसका लागि महानगर, विद्युत प्राधिकरण र सडक विभागबीच गत मंसिर २५ मा त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

उज्यालो महानगर बनाउन 'मेयर उज्यालो अभियान' अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। उनका अनुसार महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका करीब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिनसक्ने (हाइमास्ट लाइट) सडक बत्ती जडान गर्नेछ।

केही ठाउँ काम अघि बढिसकेको छ। यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौका मुख्य–मुख्य सडकमा करीब १७ सय ५० वटा आधुनिक बत्ती जडान गर्न टेण्डर प्रक्रिया सुरु गर्न लागिएको उनले बताए।

महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहनेछ।  सहमति अनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने छ।

यो सँगै महानगर क्षेत्र भित्रका अन्य ठाउँमा पनि बत्ती जडानको कार्यलाई अघि बढाउँदै आएको शाक्यको भनाइ छ। उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्यलाई तिव्रगतिका साथ अघि बढाउने उनको दाबी छ।
महानगरपालिकाको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरीपरी आधुनिक सडक बत्ती जडान गरिने बताए ।

‘पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभूवन विमानस्थलदेखि हायत होटलसम्म पनि पहिलो चरणमै जडान गर्छौ,’ थापाले भने, ‘पहिलो चरणमा ६० किलोमिटर क्षेत्रमा करीब १७ सय ५० बटा बत्ती जडान गर्ने तयारी भएको छ ।’ नयाँ बानेश्वर, माइतीघरलगगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने छ।

‘ती स्थानमा अहिले रहेका सोलार प्यानलको पुनः प्रयोगका लागि हामी स्थान पहिचान गरिरहेका छौं,’ उनले भने, ‘पहिलो चरणको बत्ती जडानका लागि ११ करोड खर्च हुने भएको छ। अब छिट्टै हामी टेण्डर प्रक्रियामा जाँदैछौं।’ 

महानगरपालिका र विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । त्यसैगरी चालु आवमा प्राधिकरणको ४० प्रतिशत लगानीको लागी आवश्यक रकम महानगरपालिकाले उपलव्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमति भएको छ।  

उक्त कामका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य  प्राधिकरणले गर्नेछ ।नयाँ पोल थप्नुपर्ने स्थानमा स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फूटपाथलगायतका संरचनाको निर्माण सडक विभागले गर्ने पनि सहमति भएको छ।