
जर्मनीमा युरोपेली फुटबल महासंघ (यूईएफए)को आयोजनामा युरो कप जारी छ। शुक्रबारबाट प्रतियोगिताको क्वाटरफाइनलको खेलहरु सुरु हुँदैछन्।
प्रतियोगितामा स्टेडियम भरिने गरी दर्शकको उपस्थिति भइरहँदा आयोजक जर्मनीको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने प्रक्षेपण भइरहेका छन्। जसलाई विभिन्न अध्ययनहरूले सकारात्मक देखाएका छन्।
युरोपको ठूलो अर्थतन्त्र जर्मनीको चालु वर्षको आर्थिक वृद्धि ०.३ प्रतिशत हुने आकलन गरिएको छ। यो अन्य औद्योगिक मुलुकहरूको तुलनामा कम हो। यस्तोमा जर्मनीमा जारी युरोकपले त्यहाँको अर्थतन्त्रलाई ‘बुस्ट’ गर्न सक्ने आकलन गरिएको छ।
जुन १४ बाट जुलाई १४ सम्म चल्ने प्रतियोगिताका लागि २७ लाख टिकट उपलब्ध थियो। प्रतियोगिता हुने सहरहरु बर्लिन, म्युनिख, कोलोग्ने, डर्टमुण्ड, डुसेलडर्फ, फ्रान्कफर्ट, गेल्सकिर्चेन, हमबर्ग, लाइपजिग र स्टुर्टगार्टमा स्थानीय र विदेशी पर्यटकको घुइँचो हुने अपेक्षा गरिएको छ।
युरो कपको पछिल्ला ८ संस्करणको रेभेन्युलाई तुलना गर्ने हो भने सबैभन्दा धेरै सन् २०१६ मा फ्रान्समा भएको युरोकप माथि देखिन्छ। यो संस्करणमा १९१६ मिलियन युरो रेभेन्यु थियो।
त्यस्तै, युरो कप २०२० ले त्यसभन्दा घटेर १८८२.५ मिलियन युरो रेभेन्यु बनाएको थियो। त्यसअघि सन् २००८ मा स्वीजरल्याण्ड र अष्ट्रियामा भएको युरो कप र सन् २०१२ मा पोल्याण्ड र युक्रेनमा सम्पन्न युरो कपमा लगभग एउटै किसिमको रेभेन्यु सिर्जना गरेको थियो।
जारी संस्करणमा अघिल्लो संस्करणको तुलनामा २५ प्रतिशतसम्म रेभेन्यु बढ्न सक्ने प्रक्षेपण छ। समूह चरणका खेल सकिँदा १.८ मिलियन दर्शकहरुले स्टेडियममा गएर खेल हेरेको यूएईएफएको विवरणमा उल्लेख छ।
त्यस्तै सामाजिक सञ्जालमा ७.५ मिलियन नयाँ फलोअर्स आएको र अघिल्लो संस्करणको तुलनामा इन्गेजमेन्ट नकआउट चरणअघि नै यो संस्करणमा धेरै भइसकेको जनाएको छ।

Find more statistics at Statista
यूईएफएकै आधिकारिक वेबसाइट अनुसार प्रतियोगिताको रेभेन्युको मुख्य तीन स्रोत छन्। पहिलो, मिडिया राइट्स, दोस्रो ग्लोबल स्पोन्सरसिप र तेस्रो टिकेटिङ, हस्पिटालिटी र लाइसेन्सिङ।
मिडिया राइट्समा ब्रोडकास्टरबाट आउने रकम पर्दछ। जसमा यसपाला सन् २०२० को १.१३५ बिलियन युरोभन्दा माथि रकम हुने प्रक्षेपण छ।
त्यस्तै ग्लोबल स्पोन्सरसिपमा अलिपे, बुकिङ डटकम, कोकाकोला, युनिलिभरजस्ता प्रायोजकहरु छन्। त्यस्तै तेस्रो, टिकेटिङमा अढाइ मिलियनभन्दा बढी टिकटको मागले अर्थतन्त्रको स्रोत बलियो बनाउँछ।
त्यसमा पनि प्रतियोगिताको हरेक चरणमा टिकट शुल्क बढ्दै गएको छ। विभिन्न देशबाट आउने खेल पर्यटकबाट हस्पिटालिटीदेखि विभिन्न व्यवसायमा होस्ट सिटीले फाइदा कमाउन सक्छ। यसमा ठूलो खर्च डेभलभमेन्ट र पुरस्कार राशिमा जाने गर्छ। यूरो कपमा यसपाला कुल प्राइज मनी ३३१ मिलियन युरो छ।
‘मानिसहरू यात्राका क्रममा धेरै सक्रिय हुन्छन्। जस्तै की कुनै इभेन्ट या ठूला स्टारको कन्सर्ट,’ जर्मन टुरिजम एसोसिएसन (डीटीभी)का मेनेजिङ डाइरेक्टर नोर्बट कुन्ज भन्छन्, ‘सन् २०२४ पर्यटनको सन्दर्भमा कीर्तिमान बन्न सक्छ।’
यसको प्रत्यक्ष प्रभाव ग्रोसरी र मदिरा उद्योगमा पनि पर्ने गर्छ।
‘विगतमा पनि फुटबलमा ठूला इभेन्टहरुले देखाएको कुरा हो सामान्य समरको वीकेन्डमा भन्दा प्रतियोगिता भएका बेला धेरै बियर पिइन्छ,’ जर्मन ब्रुअरी एसोसिएसनका अध्यक्ष होल्गर इचेले भन्छन्। सन् २००६ मा विश्वकप जर्मनीले आयोजना गर्दा बियरको माग ५ प्रतिशत बढेको उनले बताए।
सन् २०२३ मा जर्मनीमा बियरको बिक्री ४.५ प्रतिशतले घटेको जर्मनीको सरकारी विवरणमा उल्लेख छ।
इन्डष्ट्री एसोसिएसन (एचडीई) का प्रवक्ता घरेलु टोलीले प्रतियोगितामा राम्रो गरेको खण्डमा सेल्स अझै माथि जाने दाबि गर्छन्।
‘जर्मनीको टोली अघिल्ला चरणमा पुगेको खण्डमा उपभोक्ताको सेन्टिमेन्टमा धेरै फरक पर्छ,’ उनले भने। यसले खानेकुरा र पेय पदार्थको माग ह्वात्तै बढाउने उनको भनाइ छ।
यूईएफए युरो कपबाट जर्मनी जाने विभिन्न देशका समर्थकहरुबाटै १.०७ बिलियन अमेरिका डलर उठ्ने देखिएको छ। इन्स्चिट्युट अफ इकोनोमिक रिसर्चको रिपोर्टले यो देखाएको हो।
जर्मनीमा जारी प्रतियोगिताका लागि विभिन्न देशबाट ६ लाख समर्थक जर्मनी पुग्ने अनुमान छ। त्यसमध्ये १.५ मिलियन समर्थकले बसाइ लम्ब्याउने देखिएको रिसर्चर जेरोम वुल्फले जनाएका छन्। यसले जर्मनीको हस्पिटालिटी व्यवसायलाई ‘बुस्ट’ दिने अनुमान लगाइएको छ।
जर्मनी जाने विदेशी समर्थकहरुबाट जर्मनीको अर्थतन्त्रको दोस्रो क्वाटरमा ०.१ प्रतिशत योगदान गर्ने र युरो कपपछि तेस्रो क्वाटरमा सामान्य अवस्थामा फर्कने रिसर्चले देखाएको छ।
प्रतियोगिताका खेलहरू भएका सहरका होटल र रेस्टुराँहरू व्यवसायमा सुधार आउनेमा विश्वस्त भएको जर्मन होटल एण्ड रेस्टुराँ एसोसिएसन (डीईएचओजीए)को रिपोर्टमा जनाइएको छ।
‘यस प्रकारको खेलकुदको मेगा-इभन्टबाट आयोजक प्रत्यक्ष रूपमा लाभान्वित नभए पनि जर्मनीलाई पर्यटकीय गन्तव्यको रूपमा बलियो बनाउने सन्दर्भमा सम्भावित सकारात्मक प्रभावहरूलाई कम आँकलन गर्नु हुँदैन।’ डीईएचओजीएका अध्यक्ष गुडिओ जोएलिकले भने। सन् २००६ मा विश्वकप आयोजना गरेपछि जर्मनीले पहिलो पटक मेघा इभन्ट आयोजना गरेको हो।
प्रतियोगितामा क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेल बाँकी छन्। २४ टोली सहभागी प्रतियोगितामा १६ टोली बाहिरिसकेका छन् भने ८ टोली उपाधिको होडमा छन्।