भनेजति चिनी नपाउँदा चकलेट र बिस्कुट उत्पादन २०%ले घट्यो, चिनीलाई अझै २ हप्ता पर्खनुपर्ने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ पुष २ गते १४:४४ | Dec 17, 2020

Tata
GBIME

विराटनगर। भारतबाट चिनीको आयात बन्द भएको र साल्ट ट्रेडिङले पनि चिनी उपलब्ध गराउन नसकेका कारण बिस्कुट, कन्फेक्सनरी र पेय पदार्थका उद्योगलाई कच्चा सामग्री पाउन धौ–धौ परिरहेको छ ।

नेपालका उद्योगले चिनीको उत्पादन र विक्रीवितरण सुरु नगर्नु तथा बजारमा माग अनुसार चिनी पाइन छाडेका कारण उद्योगलाई कच्चा पदार्थको अभाव हुन थालेको उद्योगीहरुले बताए ।

भारत सरकारले चिनीका निर्यातकर्तालाई प्रति किलोग्राम चिनीको निर्यातमा भारतीय ९ रुपैयाँ इन्सेन्टिभ दिएको थियो । तर भारतले उक्त इन्सेन्टिभ दशैँपछि बन्द गरेपछि त्यहाँबाट चिनीको आयात बन्द भएको छ ।

भारत सरकारले चिनीको निर्यातमा इन्सेन्टिभ दिएका कारण नेपालका बिस्कुट, कन्फेक्सनरी र पेय पदार्थका उद्योगले पनि त्यहीँबाट चिनीको आयात गरेका थिए । तर भारत सरकारको इन्सेन्टिभ बन्द भएपछि उद्योगले पनि त्यहाँबाट चिनी ल्याउन छाडेका छन् ।

नेपाल बिस्कुट एसोसिएसनका उपाध्यक्ष महेश जाजूले उद्योगले कच्चा पदार्थको चिनीको आयात गर्दा भन्सार कार्यालयले ४० प्रतिशत भन्सार महसुल लिने गरेकाले आयात महँगो परेको प्रतिक्रिया दिए ।

जाजूले भने, ‘भन्सार महसुल त महँगो छँदैछ, भारतमा प्रति किलोग्राम भारु २५ देखि २७ पर्ने चिनीलाई नेपालको भन्सारमा भारु ३० रुपैयाँ मूल्याङ्कन गरिएको छ । यसले गर्दा उद्योगको लागत खर्च अझ धेरै वृद्धि भएको छ । भारतमा प्रति किलोग्राम ४० रुपैयाँ पर्ने चिनी नेपालको उद्योगको ढोकामा आइपुग्दा ७८ रुपैयाँ हुन्छ । इन्सेन्टिभ बन्दभएपछि आयात पनि बन्द भएको छ ।’

उनले करिब दोब्बर बढी मूल्य तिरेर ल्याएको कच्चा पदार्थको प्रयोग गरेर नेपालका उद्योगहरू कसरी प्रतिस्पर्धी हुन सक्छन् भन्ने प्रश्न गरे ।

‘बिस्कुट एसोसिएसनले सरकारलाई पटक–पटक लिखित रूपमा सुझाव र अनुरोधका पत्रहरू दिएको छ’, उनले भने, ‘उद्योगलाई कच्चा पदार्थका रूपमा जति चिनी चाहिने हो, उद्योगले त्यसको विवरण सरकारलाई इमानदारीपूर्वक बुझाउनु पर्छ । र, सरकारले पनि त्यति परिमाणको चिनी कारोबार मूल्यमा अधिकतम भन्सार महसुल १५ प्रतिशत लिएर छाडिदिनु पर्छ । व्यापारिक उद्देश्यको चिनी र उद्योगले कच्चा पदार्थका रूपमा मगाएको चिनीलाई समान व्यवहार गरिनु हुन्न ।’

जाजूले बजारमा चिनी नहुँदा उद्योगलाई समस्या परिरहेको जानकारी दिँदै सरकारले कच्चा पदार्थसरह आयात गर्न दिने हो भने अधिकांश उद्योग चिनी ल्याउन तयार रहेको दाबी गरे ।

उनले आफ्नो बिस्कुट, कन्फेक्सनरी र पेय पदार्थको उद्योगलाई दैनिक ३० मेट्रिक टन चिनी आवश्यक पर्ने उल्लेख गर्दै बजारमा मागअनुसारको चिनी पाइन छाडेको बताए ।

क्वालिटी बिस्कुट एन्ड कन्फेक्सनरीका सञ्चालक श्याम काबराले पनि चिनीको अभावमा बिस्कुट र कन्फेक्सनरीको उत्पादनमा असर पर्न थालेको जानकारी दिए । उनले भने, ‘चिनीको अभाव भएपछि यही हप्तादेखि उत्पादन २० प्रतिशतले कटौती गरेका छौँ ।’

उद्योगी काबराका अनुसार स्थानीय व्यापारीले प्रति किलो ८० रुपैयाँमा पनि चिनी दिन मानिरहेका छैनन् । ग्राहकलाई सस्तोमा चिनी उपलब्ध गराएको साल्ट ट्रेडिङले पनि उद्योगलाई चिनी दिएको छैन । उनले आफ्नो बिस्कुट र कन्फेक्सनरी उद्योगलाई दैनिक २० मेट्रिक टन चिनी चाहिने बताए ।

साल्ट ट्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले कम्पनीले डिलर बनाएर डिलरलाई प्रति किलोग्राम ७४ रुपैयाँ ५० पैसाका दरले चिनी विक्री गरेको जानकारी दिए ।

‘हामीसित भएको चिनीको मौज्दात सकियो’, प्रमुख चौधरीले भने, ‘हामीसित ७ सय १८ मेट्रिक चिनीको मौज्दात थियो । सबै सकियो । तर सबै चिनी हामीले डिलरलाई बिक्री गर्यौँ, उद्योगलाई दिएनौँ ।’

चिनीका व्यवसायी एवम् आयातकर्ता जीवन रिजालले पूर्वका सबैजसो आयातकर्तासित चिनीको मौज्दात सकिएको बताए ।

व्यवसायी रिजालले नेपालको उद्योगले विक्रीवितरणका लागि चिनी ननिकालेसम्म नपाइने उल्लेख गर्दै यसका लागि कम्तीमा २ हप्ता लाग्ने दाबी गरे ।