कोरोना महामारीले ५ महिना ठप्प दिल्ली मेट्रो रेल कडाइका साथ खुला, कर्मचारीलाई प्राथमिकता

बिजमाण्डू
२०७७ भदौ २२ गते ११:२१ | Sep 7, 2020

Tata
GBIME

कोरोना महामारीका कारण पाँच महिना रोकिएको दिल्लीको मेट्रो रेल सेवा आजदेखि सुरु भएको छ।

दिल्लीमा बिहान ७ बजेदेखि पहिलो मेट्रो ट्रेन संचालन भएको हो। कोरोना महामारीका कारण बिगत १६९ दिनदेखि मेट्रो रेल सेवा बन्द थियो।  मेट्रोले सोमबारदेखि तीन चरणमा आफ्नो सेवा सुरु गर्ने जनाएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारी कर्मचारीहरुलाई बिहान र साँझमा मेट्रो सुविधा लिन सक्ने बताएका छन्। यसैगरी इ-पास भएकाहरुले दिउँसोको समयमा मेट्रो चढ्न सक्नेछन्। अत्यावश्यक कामका लागि मात्र सर्वसाधारणलाई मेट्रो सुविधा लिन भनिएको छ। रेल सेवा सुरु भए पनि मानिसहरुलाई अति आवश्यक परेमा मात्र रेल चढ्न आग्रह गरिएको छ।

दिल्ली मेट्रो रेल निगमका अधिकारीहरुका अनुसार संक्रमित क्षेत्र भनेर तोकिएका स्थानहरुमा मेट्रो स्टेशन अझै पनि खुल्ने छैन। हाल १७ वा मेट्रो स्टेशनहरु मात्र खुलेका छन्।

अबको पाँच दिनसम्म यसको प्रभाव अवलोकन गरी थप मेट्रो सेवा संचालन हुँदै जाने बताइएको छ। हाल मेट्रो परिसरमा कोरोना भाइरस संक्रमण हुन नदिन सुरक्षा उपायहरुको कडाइका साथ पालना गरिएको बताइएको छ।

यात्रुहरुले अनिवार्य मास्क लगाउने तथा हातमा सेनिटाइजर दल्नुपर्ने र सामाजिक दुरी कायम गरी बस्नुपर्ने नियम लगाइएको छ। हाल मेट्रोमा स्मार्ट कार्डबाट मात्र भुक्तानी गर्न मिल्नेछ। यसअघि प्रयोगमा रहेको टोकन हाल जारी नहुने रेलवे सेवाले जनाएको छ।

मेट्रोको प्रवेशद्वारमै ज्वरो जाँच गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ। यात्रुहरुले सामाजिक दुरी लगातका बिभिन्न सुरक्षाका नियमहरु पालना नगरेको खण्डमा भने मेट्रो ट्रेन ती स्थानहरुमा नरोकिने पहिले नै चेतावनी दिइएको छ।

यसअघि पिक आवरमा ३०० देखि ३५० यात्रु बोक्ने गरेका मेट्रोमा अब अधिकतम ५० जनामात्र चढ्न सक्ने दिल्ली मेट्रो रेल कर्पोरेसनले जनाइएको छ। यसअघि प्रत्येक ट्रिपमा १६ सय देखि २१ सय  यात्रु बोक्ने गरेको सिक्स कोच ट्रेनले अब प्रति ट्रिप जम्मा ३ सय यात्रु बोक्न पाउनेछ।  

गत मार्च २२ देखि नै दिल्लीमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै मेट्रो सेवा बन्द गरिएको थियो।