लकडाउन अघि खाना होम डेलिभरी गर्ने विराटनगरको क्विकर फलफूल र दूध पुर्‍याउँदै

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७७ बैशाख २५ गते १४:२४ | May 7, 2020
लकडाउन अघि खाना होम डेलिभरी गर्ने विराटनगरको क्विकर फलफूल र दूध पुर्‍याउँदै

Tata
GBIME

विराटनगर। लकडाउन अघिसम्म दैनिक दुई लाख कारोबार हुने गरेको विराटनगरको अनलाइन व्यापार गर्ने क्विकर फूडका लगानीकर्ताका लागि केही हतास बनायो। 

विराटनगरमा ८ महिना अघि धेरै मेहनत गरेर सुरु गरेको व्यापारमा एकाएक ब्रेक लाग्यो। ब्रोसर बाँडेर बल्लबल्ल विराटनगरका उपभोक्ताको बानी पारेको कम्पनीका लागि यसले ठूलै झट्का लाग्यो। उपभोक्तासम्म खाना डेलिभरी गर्ने कम्पनीले लकडाउनकै अवधिमा बिक्री गर्न मिल्ने सामान अनलाइनमार्फत बेच्ने निधो गर्‍यो।

काठमाडौंमा फूडमान्डूले तरकारी डेलिभरी गरेको देखेपछि क्विकरले पनि त्यही पदचिन्ह समात्यो। विराटनगरका मुख्य रेस्टुरेन्टमा तयार खानेकुरा घरघरमा पुर्‍याउने कम्पनीले लकडाउनपछि ग्रोसरी, फलफूल, दूध र दुग्धजन्य पदार्थ तथा ताजा तरकारीको डेलिभरी थाल्यो।

कम्पनीका अध्यक्ष दिवस दाहालले भने, ‘अहिले हामी आफ्नै स्टोर खोल्न लागिरहेका छौं । लकडाउनको एक हप्तापछि हामीले विराटनगरमा भर्खरै खुलेको आरके सिटी सेन्टरसित टाई–अप गर्‍यौं,। तरकारी र दूध घरमा पुर्‍याउन थाल्यौ।' अध्यक्ष दाहाल २०१९ को अगस्टसम्म काठमाडौंको फास्ट मुभर्समा कार्यरत थिए।

उनी २ वर्ष त्यहाँको सिइओ भए। फास्ट मुभर्सका एक सञ्चालक उनी पनि हुन् । उनलाई लाग्यो, 'काठमाडौंमा त कम्पनी स्थापित भयो अब आफ्नै गृहनगरमा पनि यस्तै सेवा सुरु गरौं ।' उनी अगस्टमै विराटनगरमा आए र सेप्टेम्बरदेखि काम सुरु गरे।

काठमाडौंमा खुलेको फास्ट मुभर्सका शाखा देशभरि छन् । फास्ट मुभर्सले खानेकुरा होइन लिखित दस्तावेज अर्थात् चिठीपत्रको डेलिभरी दिन्छ । अहिले पनि १–२ महिनामा दिवस फास्ट मुभर्सको काम अनुगमन गर्न काठमाडौं गइरहन्छन्। ‘म सिए पढ्न कोलकाता बसेको थिएँ तर सिए कम्प्लिट भएन,’ उनले सुनाए, ‘पढाइताका आन्तरिक लेखापरीक्षण गर्न भारतका सबैजसो मुख्य शहरहरू जाने मौका पाइयो । सबै ठूला शहरमा अनलाइन सपिङ चलेको देखेर म पनि नेपालमा कुनै दिन यस्तै बिजनेस गर्छु भन्ने प्रण गरेको थिएँ।’

दाहालले थपे, ‘काठमाडौंमा फास्ट मुभर्स चलाउँदा पनि अनलाइनबाट खानेकुरा मगाएर खाइयो । हरेक पटक खानेकुरा मगाउँदा यसको बिजनेस अवश्य गर्छु भन्ने सङ्कल्प मनमा जाग्थ्यो।' क्विकर फुड अहिले विराटनगरमा आफ्नै स्टोर बनाएर काम गर्ने सोचाइमा पुगेको छ। खानेकुराको मोबाइल एप छँदैछ, अब ग्रोसरी, फलफूल, हरियो सागसब्जी र दूध तथा दुग्धजन्य पदार्थका लागि अर्को एप निर्माणका क्रममा छ।

क्विकर फुडले रेस्टुरेन्टको खानेकुरा डेलिभरी गरेबापत उपभोक्तासित ३० रुपैयाँ लिने गरेको छ । तर १ हजारभन्दा माथिको खानेकुरा रहेछ भने बिल बराबरको रकम तिरे पुग्छ, कुनै सेवा शुल्क लाग्दैन । त्यस्तै ग्रोसरी, तरकारी, फलफूल र दूध तथा दुग्धजन्य पदार्थको होम डेलिभरीका लागि कुनै थप शुल्क छैन । कम्पनीका कर्मचारीले परल मूल्यमै घरघर पुर्‍याउँछ।

क्विकर फुडले विराटनगरसित जोडिएका टंकीसिनवारी, कर्सिया, नयाँ बजार र कटहरीसम्म होम डेलिभरी दिइरहेको छ। दिवसको ९ महिनाको विराटनगरको अनुभवले के निष्कर्ष दिएको छ भने यहाँ अनलाइन बिजनेस अहिल्यै सम्भव छ र अब अनलाइन बिजनेसकै भविष्य छ। यही वैशाख महिनामा क्विकर फुडले सुनसरीको इटहरी र धरानमा पनि शाखा खोल्ने र केही महिनापछि झापाको दमक र बिर्तामोडसम्म पुर्‍याउने लक्ष्य राखेको थियो, तर लकडाउनले लक्ष्य केही पर सरेको छ।