असोज ५ गतेदेखि दसैंको टिकट खोल्न लागेका यातायात समितिका रोक्का बैंक खाता नखुल्ने



बिजमाण्डू
२०७५ असोज २ गते १६:३२ | Sep 18, 2018

काठमाडौँ। रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

Tata
GBIME
Nepal Life

असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए। 'नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढाइन्छ, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ' उनले भने। 
 
संघ संस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो। समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ।
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसकिने बताए। 'खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने? यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन, पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छ' उनले भने। 

महासङ्घमा ३०७ समिति आबद्ध थिए। त्यसमध्ये २४५ समितिको बैंकमा खाता रहेकाले रोक्का भएको र ६२ को खाता सहकारी एवं वित्तीय संस्थामा रहेकाले सञ्चालनमै रहेको यातायात क्षेत्रको सुधारमा लाग्नुभएका रामबहादुर थापाले बताए। पाँच महिनासम्म पनि समिति कम्पनीमा दर्ता नगरी राजश्व छल्न खोजेको र राज्यलाई कमजोर बनाउन लागेको उनको आरोप छ।