काठमाडौं। गत वर्षको फागुनमा विद्युतीय सवारीसाधनको एडप्टेसनमा नेपाल विश्वमा दोस्रो देश बनेको समाचार सार्वजनिक भयो।
सन् २०२५ मा बिक्री भएका नयाँ कारमा इभीको हिस्सा ७३ प्रतिशत थियो। करमा सहुलियतदेखि चार्जिङ स्टेसनमा प्रोत्साहनले इभी गाडीमा आकर्षण बढेको हो। इभी आकर्षण बढ्नुमा आन्तरिक कारण यही हो। चीनले नेपाललाई प्राथमिकतामा राखेर गाडी बेच्नु अर्को मुख्य कारण हो। चीनले प्राथमिकतामा राखेकै कारण त्यहाँ उत्पादित धेरै ब्राण्ड नेपालमा बिक्री भइरहेका छन्।
चीनका उम्दा ब्राण्डले आफ्ना प्रतिनिधिसहित बजारीकरणमा सहयोग गरिरहेका छन्। आफ्टर सेल्स सर्भिस सुदृढीकरणमा पनि उनीहरुले सघाइरहेका छन्। चीनबाट हरेक महिना कुनै न कुनै ब्राण्डका उच्च तहका व्यवस्थापक नेपाल आइरहेका हुन्छन्। नेपालमा सबैभन्दा बढी प्यासेन्जर इभी बिक्री गरिरहेको बीवाइडीले पनि आफ्टर सेल्स सर्भिस सुदृढ बनाउँदै लगेको छ। आफ्टर सेल्स सर्भिस विस्तारका लागि विश्वकै प्रमुख विद्युतीय गाडी उत्पादक बीवाइडीका एसिया-प्यासिफिकका सहायक महाप्रबन्धक हेड फेङ एरदोङ नेपाल आएका छन्। उनलाई बिजमाण्डूका शुक्र गिरीले सोधे नेपाललाई बीवाइडीले उच्च प्राथमिकता दिएको छ। सानो बजारमा पनि यति धेरै महत्व किन?
हामीले करिब पाँच वर्षअघि नै नेपालमा दीर्घकालीन रुपमा बजार विकास गर्ने योजना बनाएका थियौं। त्यसका लागि हामीले स्थानीय साझेदारसँग मिलेर काम गर्ने रणनीति अपनायौं। नेपालमा साझेदारका रुपमा साइमेक्स इंकसँग मिलेर राम्रो उपलब्धी समेत पाइरहेका छौं।
नेपालको अटोमोबाइल बजार तुलनात्मक रुपमा सानो भए पनि यो हाम्रो लागि महत्त्वपूर्ण बजार हो। बजारको आकार सानो छ भन्दैमा हामीले यहाँका ग्राहकलाई कम महत्त्व दिने भन्ने हुँदैन। हामीले वातावरण संरक्षणमा योगदान दिनुपर्छ र नेपाली ग्राहकलाई उत्कृष्ट विद्युतीय सवारीसाधन तथा सेवा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो मान्यता छ।

हामी विश्वभरका ग्राहकलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउन चाहन्छौं। नेपाल हिमाल भएको देश हो। चीन र नेपालबीच हिमाली क्षेत्रको साझा सम्बन्ध पनि छ। हामी अहिलेका लागि मात्र होइन, भावी पुस्ताका लागि पनि हिमाल र वातावरण संरक्षण गर्न चाहन्छौं।
विगतमा क्लाइमेट चेन्जको चपेटामा हामी सबै परेका छौं। भर्खरै नेपालमा आएको बाढी त्यो एउटा ठूलो उदाहरण हो। त्यसैले हामीले हिमाल बचाउनका लागि इभीलाई फ्युचर बनाइरहेका छौं। नेपालमा हिमालहरु धेरै छन्, त्यसलाई बचाउनु हाम्रो लक्ष्य हो।
हाम्रो वातावरणीय मिसन र स्लोगन नै ‘कुल द अर्थ बाई १ डिग्री सेल्सियस’ भन्ने छ। यसलाई प्राप्त गर्न पनि हामीले इभीको इकोसिस्टम निर्माण गर्दै जानु छ।
पछिल्लो ३-४ वर्षमा नेपालमा बीवाइडीका ११ हजारभन्दा बढी गाडी सडकमा गुडिरहेका छन्। नेपालमा अहिले भएको आफ्टर सेल्स सर्भिस सञ्जालप्रति बीवाइडी कति सन्तुष्ट छ?
नेपालमा बीवाइडीका गाडीको संख्या बढ्दै गएको छ। त्यससँगै ग्राहकलाई राम्रो सेवा दिन आवश्यक पूर्वाधार तयार गर्नु हाम्रो प्राथमिकता हो।
हामीले ग्राहकलाई सहज रुपमा गाडी मर्मत गराउन सक्ने वातावरण बनाउनुपर्छ। त्यसका लागि पर्याप्त उपकरण, दक्ष जनशक्ति र सर्भिस क्षमता आवश्यक हुन्छ।
काठमाडौंमा नयाँ वर्कसप सञ्चालनमा ल्याइएको छ। साथै, स्पेयर पार्ट्सको उपलब्धता सहज बनाउन ठूलो गोदामको व्यवस्था गरिएको छ। नयाँ गोदाम ५ हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलको छ। हामी बिक्री संख्या बढाउने कुरामा मात्र केन्द्रित छैनौं, बिक्रीपछि ग्राहकले पाउने सेवा पनि त्यत्तिकै महत्त्वपूर्ण छ।
नेपालमा हाम्रो बिक्रीपछिको सेवा प्रणालीमा सुधार भइरहेको छ। तर, अझै केही चुनौती छन्। त्यसैले हामीले सर्भिस नेटवर्क विस्तार गर्न र सेवाको गुणस्तर सुधार गर्न निरन्तर काम गरिरहेका छौं।
बीवाइडीको टोलीले स्थानीय साझेदारलाई कसरी राम्रो सेवा दिने, मर्मतको काम कसरी छिटो गर्ने र सेवाको प्रभावकारिता कसरी बढाउने भन्ने विषयमा मार्गदर्शन गरिरहेको छ।

काठमाडौंमा ठूलो गोदामले सर्भिस नेटवर्कलाई आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउन सहयोग गर्नेछ। यसबाहेक, स्पेयर पार्ट्सका लागि अर्को गोदाम पनि निर्माण गर्ने काम भइरहेको छ।
हाम्रो उद्देश्य ग्राहकले गाडी मर्मत गर्नुपर्दा आवश्यक पार्ट्स र प्राविधिक सहयोग सहजै पाउन सकुन् भन्ने हो।
स्पेयर पार्ट्सको उपलब्धता र मूल्यमा देखिएका समस्या पनि छन्। नेपालमा विद्युतीय गाडीका ग्राहकको एउटा प्रमुख चिन्ता स्पेयर पार्ट्सको उपलब्धता र मूल्य हो। नेपालमा जेन्युइन स्पेयर पार्ट्स समयमै उपलब्ध गराउन र मर्मत खर्च प्रतिस्पर्धी बनाउन बीवाइडीले ठोस रुपमा के गरिरहेको छ?
पछिल्लो दुई वर्षदेखि स्पेयर पार्ट्स आपूर्तिमा चुनौती देखिएको छ। विशेषगरी, स्थलमार्गबाट सामान ढुवानी गर्दा विभिन्न समस्या आउने गरेका छन्। यसले पार्ट्सको उपलब्धतामा ढिलाइ हुनुका साथै लागत पनि बढाएको छ।
त्यसैले हामीले स्थलमार्गको विकल्पका रुपमा समुद्री मार्गबाट ढुवानी गर्ने र आपतकालीन अवस्थामा हवाई ढुवानीको सम्भावनासमेत खोजिरहेका छौं।

साथै मुद्राको एक्सचेन्ज रेटमा हुने परिवर्तनले पनि स्पेयर पार्ट्स र गाडीको मूल्यमा फरक पार्छ। गाडी बिक्री मात्रै नभएर स्पेयर पार्ट्सको समस्यालाई पनि समाधान गर्ने चुनौती छ।
स्पेयर पार्ट्सको मूल्यमा ढुवानी लागतले पनि प्रभाव पार्छ। हामीले ढुवानी कम्पनीहरुसँग लागत घटाउने विषयमा छलफल गरिरहेका छौं। ग्राहकलाई सक्दो किफायती मूल्यमा पार्ट्स उपलब्ध गराउने हाम्रो प्रयास छ।
हामी ग्राहकलाई जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउन प्रतिबद्ध छौं। बजारमा पाइने सबै पार्ट्स सक्कली वा उत्पादक कम्पनीले तोकेको मापदण्डअनुसार बनेका हुन्छन् भन्ने हुँदैन। गुणस्तरहीन पार्ट्सले गाडीको सुरक्षामा जोखिम निम्त्याउन सक्छ। त्यसैले हामी मूल्यलाई मात्र होइन, पार्ट्सको गुणस्तर र ग्राहकको सुरक्षालाई पनि प्राथमिकता दिन्छौं।
नेपालमा इभी मर्मत गर्न सक्ने दक्ष जनशक्तिको अभाव नै छ। बीवाइडीका नयाँ जेनेरेसनका इभीलाई सेवा दिन आवश्यक जनशक्ति तयार पार्न कसरी काम गरिरहेको छ?
विद्युतीय सवारीसाधनमा नयाँ प्रविधि प्रयोग हुँदै गएकाले प्राविधिक जनशक्तिलाई निरन्तर तालिम दिन आवश्यक छ।
हामीले नेपालमा ट्रेनिङ सेन्टर निर्माण गरिरहेका छौं, जुन करिब तीन महिनाभित्र तयार हुने अपेक्षा छ। त्यसपछि डिलरका प्राविधिक कर्मचारी, रिसेप्सन टोली र अन्य सम्बन्धित जनशक्तिलाई तालिम दिन सकिनेछ।
हामीले प्राविधिक कर्मचारीलाई सवारीसाधनको मर्मत, नयाँ प्रविधिको प्रयोग र समस्या पहिचान गर्ने विधिबारे व्यावहारिक तालिम दिनेछौं।
यसका अतिरिक्त, एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशका प्राविधिक टोलीबीच अनुभव आदानप्रदान र प्राविधिक प्रतिस्पर्धासमेत आयोजना गरिन्छ। थाइल्यान्ड र श्रीलंकामा रहेका तालिम केन्द्रमार्फत पनि नियमित रुपमा प्रशिक्षण दिइँदै आएको छ। हाम्रो लक्ष्य नेपालमा पनि नयाँ जेनेरेसनका इभी मर्मत गर्न सक्ने दक्ष जनशक्ति तयार गर्नु हो।

बीवाइडीले सधैं सम्बन्धित बजारको आवश्यकताअनुसार उपयुक्त प्रविधि र उत्पादन उपलब्ध गराउने प्रयास गर्दै आएको छ। नेपालका ग्राहकको आवश्यकता र बजारको अवस्थालाई ध्यानमा राखेर हामी उत्पादन उपलब्ध गराउँछौं।
नयाँ जेनेरेसनका विद्युतीय गाडीमा थप उन्नत प्रविधि प्रयोग हुने भएकाले बिक्रीपछिको सेवा र प्राविधिक दक्षता पनि सोहीअनुसार विकास गर्नुपर्छ।
त्यसैले हामीले नयाँ मोडल ल्याउने तयारीसँगै आवश्यक तालिम, उपकरण, स्पेयर पार्ट्स र सेवा पूर्वाधारमा पनि काम गरिरहेका छौं।
इभीको सबैभन्दा महत्त्वपूर्ण हिस्सा ब्याट्री हो। ब्याट्री मर्मत र प्रतिस्थापनमा बीवाइडीको दीर्घकालीन योजना के छ?
बीवाइडीले ब्याट्री प्रविधि निरन्तर विकास गरिरहेको छ। ब्याट्रीको समस्या समाधान गर्न मोड्युल छुट्याएर मर्मत गर्ने प्रविधि पहिले पनि प्रयोग हुन्थ्यो। तर, अहिले ब्याट्री प्रविधि निकै विकसित भइसकेको छ।
हाम्रो ब्याट्रीको वारेन्टी अवधि सामान्यतया आठ वर्ष छ। केही अवस्थामा थप वारेन्टीको व्यवस्था गरेर यसलाई १० वर्षसम्म पुर्याउने योजना पनि छ।
नेपालमै ब्याट्री मर्मतसम्बन्धी सेवा उपलब्ध गराउन हामीले काठमाडौंमा ब्याट्री मर्मत केन्द्र निर्माण गर्न खोजिरहेका छौं। आगामी दुई महिनाभित्र केही सामान्य प्रकारका मर्मत सेवा उपलब्ध गराउन सकिने अपेक्षा छ। जटिल समस्याको समाधानका लागि भने थप प्राविधिक क्षमता विकास गर्नुपर्ने हुन्छ। त्यसका लागि हामीले काम गरिरहेका छौं।

ब्याट्री प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेपछि त्यसलाई उचित तरिकाले पुनः प्रयोग वा रिसाइकल गर्ने व्यवस्था पनि आवश्यक हुन्छ। नेपालमा उपलब्ध विकल्पसँगै भारतका ब्याट्री रिसाइकल कम्पनीसँग सहकार्य गर्ने सम्भावना पनि खोजिरहेका छौं। हाम्रो उद्देश्य ग्राहकले विद्युतीय गाडी प्रयोग गरिसकेपछि त्यसको ब्याट्रीलाई पनि जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सकुन् भन्ने हो।
बीवाइडीको मुख्यालयमा प्राविधिक सहयोग दिने छुट्टै टोली छ। नेपालमा कुनै जटिल समस्या आएमा स्थानीय प्राविधिकले मुख्यालयबाट आवश्यक मार्गदर्शन र सहयोग लिन सक्छन्।
हामीसँग रहेको आन्तरिक सूचकांकअनुसार, स्थानीय टोलीलाई मुख्यालयको सहयोग वा मार्गदर्शन आवश्यक पर्ने समस्या करिब ०.१ प्रतिशत मात्रै छ। अर्थात्, अधिकांश समस्या स्थानीय प्राविधिक टोलीले नै समाधान गर्न सक्छ।
ब्याट्री मर्मतमा भने सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्छ। गलत तरिकाले मर्मत गर्दा आगलागी वा अन्य सुरक्षा जोखिम निम्तिन सक्छ। त्यसैले ब्याट्री मर्मतका लागि पर्याप्त तालिम, आवश्यक उपकरण र सुरक्षा प्रक्रिया अनिवार्य हुन्छ।

हामी ग्राहकको सुरक्षामा कुनै सम्झौता गर्न चाहँदैनौं। त्यसैले दक्ष जनशक्ति तयार गरेर मात्र जटिल ब्याट्री मर्मत सेवा विस्तार गर्ने हाम्रो योजना छ।








