भाटभटेनी समूह स्टिल व्यापारमा पनि एग्रेसिभ, काठमाडौं स्टिलमा दुई अर्ब थपेर मेल्टिङ युनिट

अनन्तराज न्यौपाने
२०८३ असोज २६ गते १२:२५ | Oct 12, 2026
भाटभटेनी समूह स्टिल व्यापारमा पनि एग्रेसिभ, काठमाडौं स्टिलमा दुई अर्ब थपेर मेल्टिङ युनिट


विराटनगर। भाटभटेनी समूहले नवलपरासीस्थित काठमाडौं स्टिलमा दुई अर्ब लगानी थपेर मेल्टिङ युनिट स्थापना गरेको छ।

GBIME
Tata

भाटभटेनी समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले नवलपरासीको सरावल गाउँपालिकास्थित तिलकपुरमा १३ वर्षअघि स्थापित उद्योगमा मेल्टिङ युनिट थपेका हुन्। यसअघि काठमाडौं स्टिल बिलेटबेस उद्योग थियो।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को भदौमा ल्याएको बजेट प्रतिस्थापन विधेयकपछि मेल्टिङ युनिट राख्नैपर्ने बाध्यात्मक अवस्था आएको हो।

समूहका अध्यक्ष गुरुङले देशभित्र विकास निर्माण तीब्र बन्ने अपेक्षासहित दुई अर्ब लगानीमा मेल्टिङ युनिट लगाएको बताए।

मेल्टिङ युनिटबाट आज(सोमबार)देखि व्यावसायिक उत्पादन सुरु गर्ने योजना रहेकामा नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनको निर्माण समयमा पूरा नभएका कारण एक महिनापछि धकेलिएको छ।

उद्योगका कार्यकारी अधिकृत केशवप्रसाद पोखरेलका अनुसार उद्योगले प्राधिकरणको ६ किलोमिटर टाढाको न्यु बुटवलस्थित भूमई सबस्टेसनबाट विद्युत् ल्याउनु पर्छ। उनले सबस्टेसनको निर्माण पूरा नभएकाले उद्योगले विद्युत् जोडेर उत्पादन सुरु गर्न नसकेको बताए।

भूमई सबस्टेसनबाट काठमाडौं स्टिलले आफ्नै खर्चमा उद्योगका लागि ट्रान्समिसन लाइनको निर्माण गरिसकेको छ। ‘हामीले हाम्रै खर्चमा ट्रान्समिसन लाइन निर्माण गरेको ६ महिनाअघि नै हो। तर, सबस्टेसनको निर्माण समयमा सम्पन्न हुन सकेन। त्यसैले ढिलो भयो। सबस्टेसनले विद्युत् लाइन दिनेबित्तिकै हाम्रो उत्पादन सुरु हुन्छ। सबै तयारी अवस्थामा छ’, कार्यकारी अधिकृत पोखरेलले भने।

उद्योगलाई ३५ मेगावाट विद्युत् आवश्यक पर्छ। सबस्टेसनले विद्युत् दिएपछि मात्र उद्योगले उत्पादन थाल्नेछ। उद्योगसँग ८ देखि ३२ एमएमसम्मका दैनिक ५०० टन टीएमटी उत्पादन गर्ने क्षमता छ।

उद्योगले बिलेट उत्पादनका लागि १५ देखि २० प्रतिशत स्क्र्याप प्रयोग गर्ने जनाएको छ। नेपालमा मेल्टिङ प्रविधिका उद्योग थपिएसँगै स्क्र्याप अभाव हुन थालेको छ।

बजेट प्रतिस्थापन विधेयक ल्याएका बेलासम्म नेपालको फलामे स्क्र्याप तस्करी भएर भारत पुर्‍याइन्थ्यो। तर, अहिले नेपालकै उद्योगले राम्रो मूल्य दिएर मगाउने गरेका छन्। ‘हामी ३५ प्रतिशतसम्म स्क्र्याप प्रयोग गरेर उद्योग संचालन गर्न तयार छौं। तर, भनेजति पाइँदैन। त्यसैले १५ देखि २० प्रतिशत मात्र प्रयोग गर्न बाध्य छौं,’ पोखरेलले भने।

उद्योगले प्राइम बिलेटबाट पनि टीएमटी उत्पादन गर्नेछ। प्राइम बिलेटबाट उत्पादित टीएमटी हाइड्रो, पुल, बहुतले भवन लगायतका ठूला संरचनामा प्रयोग गरिन्छ। उद्योगका उत्पादनले यसअघि नै नेपाल गुणस्तर चिह्न (एनएस) पाइसकेको हुँदा बजार र विश्वसनीयताको खाँचो नभएको पोखरेलको दाबी छ।

उद्योगले देशभरि नै एग्रेसिभरुपमा बजारीकरण गरी मार्केट लिडर बन्न ध्यान केन्द्रित गर्ने बताएको छ। ‘हाम्रो बजार देशभरि नै हो। तापनि मुख्यतः काठमाडौं, हेटौंडा, भैरहवा, बुटवल र चितवन जस्ता जनघनत्व भएका क्षेत्रमा हामी केन्द्रित हुनेछौं। काठमाडौं स्टिल भएको स्थान मुलुककै लगभग मध्य भागमा पर्छ। त्यसैले यहाँबाट पूर्व र पश्चिम दुबै स्थानको बजार भेट्टाउन सकिन्छ,’ पोखरेलले भने।

भाटभटेनी समूह आफैं स्टिलको सबैभन्दा ठूलो ‘बायर’ पनि हो। भाटभटेनी सुपरस्टोर निर्माणदेखि हस्पिटालिटीमा यही स्टिल प्रयोग हुन्छ। यही समूहले दरबारमार्गमा पाँच तारे होटल अन्नपूर्ण स्क्वायर समेत निर्माण गरिरहेको छ। समूहले जलविद्युतदेखि सोलार परियोजना समेत निर्माण गर्दैछ।

उद्योगबाट उत्पादित स्टिल माथिल्लो तामाकोशी जलविद्युत आयोजना, रुदी खोला जलविद्युत आयोजना, रानी जमरा सिचाईं आयोजना, निलगिरि जलविद्युत आयोजना, महाकाली सिचाईं परियोजना, सुपर त्रिशुली जलविद्युत आयोजना, भाटभटेनीका अधिकांश सुपरस्टोर, बूढानीलकण्ठ अपार्टमेन्ट, बौद्ध रेसिडेन्सी लगायतमा प्रयोग भएको छ।

कप्लिङ सकेट उत्पादन

उद्योगले नेपालको निर्माण क्षेत्रमा सबैभन्दा पहिले कप्लिङ प्रविधि भित्र्याएको छ। कार्यकारी अधिकृत पोखरेलका अनुसार टीएमटी जोडेर कुनै पक्की संरचना बनाउँदा दुई टीएमटी तीन-चार इन्चसम्म खप्टनु पर्छ। यसो गर्दा टीएमटीका धेरै टुक्रा खेर फालिने हुन्छ।

उद्योगले यही समस्या निराकरण गर्न कप्लिङ सकेटको उत्पादन गरेको छ। ‘कप्लिङ सकेट प्रयोग गरेपछि एकमा अर्को टीएमटी खप्टनु पर्दैन। यही सकेटभित्र पाइप झैँ एकातिरबाट एक र अर्कातिरबाट अर्को टीएमटी घुसारिन्छ। यसपछि ढलानको काम गर्न सकिन्छ,’ उनले भने।

कप्लिङ सकेटमा टीएमटी खप्टनु नपर्ने र साना टुक्रा पनि प्रयोग गर्न सकिने पोखरेलले सुनाए। उद्योगले वार्षिक ५० हजार टन कप्लिङ सकेट उत्पादन गर्ने क्षमता राख्छ।