मेगाको सेयर बाँडफाँड, एक लाख ४४ हजारलाई सेयर पर्यो, साना लगानीकर्तालाई ६.३१ प्रतिशत



बिजमाण्डू
२०७० असार ३० गते ००:०० | Jul 14, 2013
मेगाको सेयर बाँडफाँड, एक लाख ४४ हजारलाई सेयर पर्यो, साना लगानीकर्तालाई ६.३१ प्रतिशत


काठमाडौं । मेगा बैंकको प्राथमिक सेयरको वाँडफाँड भएको छ । सेयरमा साना लगानीकर्ताले ६.३१ प्रतिशत र ठूला तथा अन्य लगानीकर्तालाई ३.६७ प्रतिशतको अनुपातमा सेयर वाँडफाँड गरिएको छ । मागेभन्दा साढे २२ गुणा वढी आवेदन परेको बैंकको सेयर एक लाख ४४ हजार ४ सय ५६ जनाले प्राप्त गरेका छन् । बैंकको सेयरमा एक लाख ६० हजार पाँच सय ३४ जनाको आवेदन परेको थियो ।
सेयरका लागि साना लगानीकर्तामध्येबाट २७.९३ प्रतिशतको अनुपातमा आवेदन परेको  थियो । ७२.०७ प्रतिशत ठूला तथा अन्य लगानीकर्ताले आवेदन हालेका थिए । आवेदन दिएकामध्ये दुर्इ सय २८ जनाको एक लाख २० हजार ४३७ को रित नपुगेको भएर आवेदन रद्द गरिएको छ ।
साना लगानीकर्ताहरुलाई प्राथमिकता दिंदै २५ लाख ३० हजार ३३० कित्ता र पाँच सय कित्ता माथि आवेदन गरेकालार्इ ३७ लाख ६० हजार ६ सय ७० कित्ता शेयर बाँडफाँट गरिएको छ ।  साना लगानीकर्तामध्ये ३५ हजार ४ सय २ जना लगानीकर्ताहरुले ५० कित्तादेखि १५० कित्तासम्मका लागि आवेदन दिएका थिए । ती आवेदकहरुले न्यूनतम बाँडफाँट गर्नुपर्ने १० कित्ता भन्दा पनि कम पाउने देखिएकाले चिठ्ठाको माध्यमबाट शेयर बाँडफाँट गरिएको थियो । सामूहिक लगानी कोषका लागि तीन लाख ४९ हजार ५ सय कित्ता र कर्मचारीका लागि पनि त्यतिकै संख्यामा शेयर भने यसअघि नै बाँडफाँटका लागि सुरक्षित गरिएको थियो ।

Tata
GBIME
Nepal Life


सेयर बाँडफाँट कार्यक्रममा मेगा बैंकका अध्यक्ष प्रा. डा मदन कुमार दाहालले भने, आज मलाई मेगा बैंक स्थापनाको त्यो क्षणको याद आइरहेको छ, जतिबेला १२ सय १९ जना हामी नेपालीले यो बैंक सुरु गरेका थियौं । सशक्त टिम र ६३ जिल्लामा छरिएका प्रर्बद्धकहरुको दरिलो सञ्जालकै कारण छोटो समयमै हामीले सर्वसाधारणको विश्वास आर्जन गर्न सफल भयौं, प्राथमिक शेयर खरिदमा सर्वसाधारणले देखाउनुभएको उत्साहजनक सहभागिताले नै हाम्रो सफलता प्रतिबिम्वित गर्छ । उनले भने,  आगामी दिनमा मेगा बैंक थप शसक्त र विश्वसनीय वित्तीय संस्थाको रुपमा अगाडि बढनेछ ।


बैंकका  सिइओ अनिलकेशरी शाहले १२ सय १९ जना नेपालीले स्थापना गरेको मेगा बैंक प्राथमिक शेयर निष्कासनपछि एक लाख ४५ हजार नेपाली लगानीकर्ताको बैंक बनेको बताए । उनले भने, अब हामी सबैभन्दा बढी शेयर होल्डर भएका सर्वसाधारणको बाणिज्य बैंक बनेका छौं । पछिल्लोपटक शेयर निष्कासन गरेका बैंकमध्ये मेगामा सबैभन्दा बढी आवेदन परेको थियो । धेरै भन्दा धेरै सर्वसाधारणलाई शेयर दिने उद्देश्यले नै एक लाख ४४ हजार सर्वसाधारणलाई शेयर दिन सफल भएको उनले बताए ।
मेगा बैंकले संयुक्त रुपमा नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआइबीएल क्यापिटल मार्केट्सलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो । शेयर बाँडफाँटमा नपरेको रकम साउनको पहिलो साताबाट फिर्ता गरिने बैंकले जनाएको छ ।  २०६७ साउन ७ गतेदेखि बैंकिङ कारोबार प्रारम्भ गरेको मेगा बैंकले मुख्य कार्यालयसहित देशभरका २८ वटा शाखा, देशका करिब आठ सय स्थानमा आफ्नै रेमिट्यान्स प्रणाली “मेगा रेमिट” र ४५ वटा ग्रामीण भेगमा अत्याधुनिक शाखारहित बैंकिङ सेवा विस्तार गरिसकेको छ ।
अधिकृत पुँजी रु. ४ अर्ब तथा जारी पुँजी रु. २ अर्ब ३३ करोड रहेको मेगा बैंक पुँजीका हिसाबले देशकै एउटा ठूलो बैंक हो । शेयर बाँडफाँटपछि बैंकको चुक्ता पुँजी २ अर्ब ३३ करोड रुपैंया पुगेको छ ।  गत आर्थिक बर्षमा सात करोड १८ लाख रुपैंया खुद मुनाफा गरेको मेगा बैंकले यस आर्थिक बर्षको तेश्रो त्रैमाससम्म १३ करोड रुपैंया खूद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले साना तथा मझौला उद्योग÷व्यवसायहरु एवं विपन्नवर्ग तर्फको लगानीलाई बढाउँदै अधिकेन्द्रित कर्जा जोखिमलाई समेत न्यून गर्दै आएको छ । निक्षेप १२ अर्ब ८४ करोड र कर्जा ११ अर्ब ८७ करोड भएकाले आर्थिक अवस्था अत्यन्तै मजबुत रहेको बैंकले जनाएको छ ।
बैंकले असार मसान्तसम्म करिव १८ करोड रुपैयाँ पुग्ने अनुमान छ । बैंकले विगतमा गरेको सञ्चिति मुनाफाबाट समेत बैंकले लाभांस वितरण गरर्ने छ । बैंकले लगानीकर्तालाई सात देखि आठ प्रतिशतसम्म लाभांस वाँड्न सक्छ । बैंक स्रोतका अनसार, बैंकको सेयर नेपाल स्टक एक्सचेन्जमा १८० रुपैयाँदेखि १९० रुपैयाँसम्ममा ‘कोट’ हुने अनुमान गरिएको छ ।