काठमाडौं । मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक चर्चित सेफ सन्तोषकुमार साह ठगी मुद्दामा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाको जनकपुरधाम–८ रामानन्द चोकबाट शुक्रबार पक्राउ गरेको हो।
कार्यालयका अनुसार शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा उनीसहित नारायण साहविरुद्ध ठगी कसुरको जाहेरी परेको थियो। काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जनकपुरबाट काठमाडौं हुँदै विभिन्न सहरमा चेन रेस्टुरेन्ट बिस्तार गरिरहेका ४१ वर्षीय सन्तोष सिरहाको कर्जन्हा–११ का हुन्। यसै मुद्दामा उनका साझेदार सिरहाकै कर्जन्हा–९ का ५८ वर्षीय नारायण साह सुडीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गौरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा तोकिएको रकम नतिरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। रेस्टुरेन्ट करिब १ करोड ३० लाख रुपैयाँमा खरिद गरिएको र भुक्तानीका लागि दिइएका केही चेकसमेत सटही नभएको भन्दै पीडित पक्षले उजुरी दिएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।










