सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपिओ फागुन ११ गतेदेखि, तीन वर्षसम्म बिक्री गर्न नपाइने

बिजमाण्डू
२०७४ माघ २८ गते १०:४१ | Feb 11, 2018

काठमाडौं। सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावरले पहिलो चरण र दोस्रो चरणको प्राथमिक शेयर निष्काशन गर्ने भएका छन्।

Tata
GBIME

दुवै कम्पनीले पहिलो चरणमा फागुन ११ गतेदेखि ३० गतेसम्म कर्मचारी संचयकोषका संचयकर्ताको लागि प्रति शेयर १०० रुपैयाँको दरमा निष्काशन गर्ने भएका हुन्। पहिलो चरणमा सान्जेनले ७१ लाख १७ हजार कित्ता र रसुवागढीले १ करोड ३३ लाख कित्ता निष्काशन गर्नेछ। साथै दोस्रो चरणमा चैत्र ५ गते देखि १३ गतेसम्म कर्मचारीहरुको लागि निष्काशन गर्ने छ। यसमा कर्मचारी संचयकोषका कर्मचारी, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे हाइड्रोपावर कम्पनीका कर्मचारी, रसुवा जिल्लका स्थानीय निकायका कर्मचारीहरुले प्राथमिक शेयरमा आवेदन दिन पाउने छन्।

आवेदक मध्ये संचय कोषका संचयकर्ताले सान्जेनको लागि न्यूनतम ५० देखि अधिकतम तीन सय कित्ता र रसुवागढीको लागि न्यूनतम ५० देखि अधिकतम पाँच सय कित्ता सम्मको लागि आवेदन दिन पाउने छन्। त्यस्तै संस्थापक शेयरधनी संस्थाका कर्मचारीको हकमा सान्जेनमा न्यूनतम ५० देखि अधिकतम तीन सय कित्ता र रसुवागढीमा न्यूनतम ५० देखि अधिकतम पाँच सय कित्तासम्मको लागि आवेदन दिन पाउने छन्।कर्मचारी संचय कोषका कर्मचारीको हकमा सान्जेनमा न्युनतम ५० देखि एक हजार र रसुवागढीमा न्यूनतम ५० देखि अधिकतम २ हजार पाँच सय सम्मको लागि आवेदन दिन पाउने छन्। 

शेयर आवेदनको लागि सनराइज बैंक गैरीधारा, सिभिल क्यापिटल सुन्धारा, प्रभु क्यापिटल कमलादी, एनएमबी क्यापिटल नागपोखरी, ग्लोबल आइएमइ क्यापिटल जमल रहेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। दुवै जलविद्युत कम्पनीको इक्रा रेटिङ 'इक्रा एनपि आइपिओ ग्रेड ४ प्लस' रहेको छ।

दुवै जलविद्युत आयोजनाले निष्काशन गरेको प्राथमिक शेयर बाँडफाँड भएको मितिले तीन वर्ष पुरा नभएसम्म बिक्री गर्न नपाइने कम्पनीले जानकारी दिएको छ। साथै एउटा समूह वाहेक अन्य समूहमा लाभान्वित हुनेले दोहोर्याएर आवेदन दिन पाउने छैनन।