अन्ततः भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी, यसरी सम्भव भयो रेणुको जित

बिजमाण्डू
२०७४ साउन २१ गते २१:४९ | Aug 5, 2017
चितवन। अन्ततः भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी हुने घोषणाको औपचारिकता यो समाचार तयार पार्दासम्म बाँकी छ।

Tata
GBIME

मतपत्र च्यातिएपछि विवादका कारण गत जेठ १४ गते मध्यरातमा मतगणना रोकिनु अघिसम्म ७ सय ३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो।मतपत्र च्यातियो र लामो कानुनी राजनीतिक र कानुनी विवादपछि सर्वोच्च अदालतको आदेश अनुसार शुक्रबार पुनः मतदान भयो। 

 
भरतपुर महानगरपालिकाका अन्य सबै वडाको मतगणना सकिसकेर वडा नम्बर १९ र २० को मतगणना बाँकी छँदा गत जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना रोकिएको थियो। त्यही दुई वटा वडा नै निर्णायक रह्यो। वडा नम्बर १९ को पुनः मतदान हुँदा ५ सय मतको फाइदा रेणुलाई हुनु नै यो विजयको कारक रह्यो। 
 
वडा नम्बर १९ मा गत जेठ महिनामा पहिलो ६ सय मत गन्दा रेणुको अग्रता २० भोटले मात्र देखिएको थियो। १८०९ भोट गनिसक्दा ७३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो। त्यति नै बेला मतपत्र च्यातियो र मतगणना स्थगित भयो। वडा नम्बर १९ को मतगणना शनिबार बिहान सकिँदा देवी ज्ञवालीको अग्रता २२१ ले मात्र रह्यो। यो हिसाबले लगभग ५ सय मतको फाइदा रेणुलाई भएको देखिन्छ। 
 
यद्यपि वडा नम्बर १९ को मतगणना सकिसक्दा पनि देवी ज्ञवालीको अग्रता कायमै थियो। तर पासा पल्टाउने काम गर्‍यो वडा नम्बर २० का ३३ सय मतले। वडा नम्बर २० को मतगणनामा रेणुले मतअन्तर घटाउँदै लगिन्। आधा मत गनिसक्दा रेणु र देवीको मत बराबरमा आयो। बाँकी आधा मत गन्न थालेपछि भने रेणुको अग्रता रह्यो। यो अग्रता कायमै रहेकोले धेरैले सोचे जस्तो दुई अङ्कको नभई तीन अङ्कको मतअन्तरमा रेणु दाहालको विजय सम्भव भयो। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको उम्मेदवारका रुपमा रेणु दाहालको जितमा मतपत्र च्यातेर पुनः मतदान हुनु नै प्रमुख कारण देखियो।