
काठमाडौं । एनआईसी बैंकले दुई नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैकले विहीबार पूर्व स्वीकृत सवारी साधन कर्जा तथा घर कर्जा र ‘अटो बलुन फाइनान्सिङ’ योजना सार्वजनिक गरेको हो । राजधानीमा पत्रकार सम्मेलन गर्दै बैकले ग्राहकको अम्दानीका आधारमा ऋण रकम र भुक्तानीको किस्ता तोकिदिने जानकारी दियो ।
बैंकले घर/जग्गा ऋणको ब्याजदर १०.९९ प्रतिशत र सवारी साधन कर्जाको ११.४९ प्रतिशत व्याज निर्धारण गरेको छ । पूर्व स्विकृत लिएको ९० दिनभित्र ऋण लिइसक्नु प्रावधान पनि कम्पनीले राखेको छ । ऋणको प्रक्रियाका लागि बैंकले एक प्रतिशत सेवा शुल्क लिने छ । पूर्व स्वीकृत गरेको ऋण ग्राहकले नलिएमा सेवा शुल्क वापत लिएको रकम फिर्ता हुने एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले बताए ।
अटो बलुन फाइनान्सिङमा कर्जाको ७० प्रतिशतसम्मको रकमलाई मासिक भुत्तानीबाट चुत्ता गर्न सकिने छ भने बाँकी ३० प्रतिशत रकम अन्तिम किस्ता पछि एकमुष्ठ वा प्रथम वर्षपछि आंशिकरुपमा भुत्तानी गर्न सकिने बैकले जनाएको छ । सिइओ जोशीले उपभोक्ताले खरिद गर्ने घर/जग्गा अथवा सवारी साधन रोज्नु अगावै कर्जा रकम स्वीकृत गरिने जानकारी दिए । आफूले खरिद गर्ने घर÷जग्गा अथवा सवारी साधानको निश्चित गर्नु अगावै ऋण रकम थाहा पाउने हुँदा चाहे अनुसारको घर/जग्गा तथा सवारी साधान छनौट गर्न पर्याप्त समय हुने उनले जानकारी दिए । यसले कर्जाको मोलतोल गर्ने क्षमतामा बृद्धि हुने भएकाले उचित मुल्यमा घर अथवा सवारी साधन खरिद गर्न ग्राहकले सक्ने पनि उनले बताए । यसले सुस्त भैरहेको घर÷जग्गा खरिदमा नयाँ उत्साह थप्ने दावी पनि जोशीले गरे ।