काठमाडौं । बीबी एयरवेजले विहिवारबाट उडान सुरु गरेको छ । बीबीको पहिलो उडान बीओ ४२८ विहिवार दिउँसो १२:५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कम्बोडियाको सियाम रिपबाट २०१ पर्यटक लिएर आएको बोईङ्ग ७५७–२०० विमानबाट बीबी एयरवेजले आफ्नो उडान थालेको हो । बीबी एयरवेजको यो चार्टर उडान कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रुपमा संचालन गरिएको हो ।
एयरवेजले आफ्नो नियमित उडान भने असोज २५ गतेदेखि संचालन गर्दैछ । कम्पनीले मलेसियाको क्वालालम्पुर र चीनको हंगकंगमा नियमित उडान गर्न लागेको हो । कम्पनीले जापानको टोकियोका लागि पनि साताको दुईवटा चार्टर उडान गर्नेछ ।
एयरवेजले क्वालालम्पुरसम्म साप्ताहिक रूपमा चार पटक र हङकङमा तीन पटक उडान भर्नेछ । क्वालालम्पुरका लागि सोमबार, बिहीबार, शनिबार र आइतबार उडान हुनेछन् भने हङकङका लागि मंगलबार, शुक्रबार र आइतबार उडान हुनेछन् । एयरवेजको भाडादर काठमाडौंबाट क्वालालम्पुर र फिर्तिका लागि ३६ हजार रुपैयाँबाट सुरु हुनेछ । हङकङका लागि भने काठमाडौं–हङकङको दोहारो भाडादार ४८ हजार रुपैयाँबाट आरम्भ हुनेछ ।
बीबी एयरवेजले आफ्नो उडान एक बोइङ ७५७–२०० बाट आरम्भ गर्ने छ र छिट्टै नै अर्को बी–७५७ थप्ने छ । दोस्रो एयरक्राफ्ट थपिनेवित्तिकै एयरवेजले आफ्नो सेवालाई बैंकक, सिंगापुर, नयाँ दिल्ली र दोहामा विस्तारित गर्ने छ । छिट्टै नै थप दुई बोइङ ७६७ थपेर यसले युरोप तथा अष्ट्रेलियामा उडान भर्नेे कम्पनीको योजना छ ।
बीबी एयरवेज गैर आवासीय नेपाली उद्यमी भवन भट्टद्वारा प्रबद्र्धित कम्पनी हो । उनको स्वामित्वमा जापान र नेपालमा कैयन व्यवसायहरू सञ्चालनमा छन् । भट्ट गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हुन भने उनी गैर आवासीय नेपाली संघ जापानको अध्यक्ष पनि थिए ।
बिमान अवतरण गर्ने बित्तिकै आफ्नो सन्तुष्टि व्यक्त गर्दै बीबी एयरवेजका अध्यक्ष भवन भट्टले भने, यो हाम्रो मात्र उपलब्धि होईन, सम्पुर्ण देशकै उपलब्धि हो । यो उडानले देशको आर्थिक उन्नतिको लागि नयाँ आयाम थपेको छ र हामी अझ अघि बढ्नका लागि धेरै उत्साहित भएका छौं, भट्टले भने ।
नेपालसम्मको उडान सजिलो र आरामदायक भएको र आफू बारम्बार नेपाल आउन पाएमा अत्यन्त हर्षित हुने, बीओ ४२८ जहाजका क्याप्टेन भादिम प्रुड्निकोभ्सले बताए । त्रिभुवन विमानस्थलमा एउटा जहाज अवतरण हुनु ठूलो कुरा नहोला तर निजी क्षेत्रको संलग्नताबाट भएको नेपालको अन्तर्राष्ट्रिय उड्डयनको ईतिहासमा एउटा ठूलो फड्को हो,” एयरवेजका प्रबन्ध निर्देशक शिशिर भट्टले भन्नुभयो ।