BIZMANDU
www.bizmandu.com

बीबी एयरवेजको उडान सुरु, पर्यटक लिएर कम्बोडियाबाट काठमाडौं आयो बीओ ४२८

२०६९ भदौ २८

बीबी एयरवेजको उडान सुरु, पर्यटक लिएर कम्बोडियाबाट काठमाडौं आयो बीओ ४२८
बीबी एयरवेजको उडान सुरु, पर्यटक लिएर कम्बोडियाबाट काठमाडौं आयो बीओ ४२८


काठमाडौं । बीबी एयरवेजले विहिवारबाट उडान सुरु गरेको छ । बीबीको पहिलो उडान बीओ ४२८ विहिवार दिउँसो १२:५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कम्बोडियाको सियाम रिपबाट २०१ पर्यटक लिएर आएको बोईङ्ग ७५७–२०० विमानबाट बीबी एयरवेजले आफ्नो उडान थालेको हो । बीबी एयरवेजको यो चार्टर उडान कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रुपमा संचालन गरिएको हो ।
एयरवेजले आफ्नो नियमित उडान भने असोज २५ गतेदेखि संचालन गर्दैछ । कम्पनीले मलेसियाको क्वालालम्पुर र चीनको हंगकंगमा नियमित उडान गर्न लागेको हो । कम्पनीले जापानको टोकियोका लागि पनि साताको दुईवटा चार्टर उडान गर्नेछ ।

एयरवेजले क्वालालम्पुरसम्म साप्ताहिक रूपमा चार पटक र हङकङमा तीन पटक उडान भर्नेछ । क्वालालम्पुरका लागि सोमबार, बिहीबार, शनिबार र आइतबार उडान हुनेछन् भने हङकङका लागि मंगलबार, शुक्रबार र आइतबार उडान हुनेछन् । एयरवेजको भाडादर काठमाडौंबाट क्वालालम्पुर र फिर्तिका लागि ३६ हजार रुपैयाँबाट सुरु हुनेछ । हङकङका लागि भने काठमाडौं–हङकङको दोहारो भाडादार ४८ हजार रुपैयाँबाट आरम्भ हुनेछ ।
बीबी एयरवेजले आफ्नो उडान एक बोइङ ७५७–२०० बाट आरम्भ गर्ने छ र छिट्टै नै अर्को बी–७५७  थप्ने छ । दोस्रो एयरक्राफ्ट थपिनेवित्तिकै एयरवेजले आफ्नो सेवालाई बैंकक, सिंगापुर, नयाँ दिल्ली र दोहामा विस्तारित गर्ने छ । छिट्टै नै थप दुई बोइङ ७६७ थपेर यसले युरोप तथा अष्ट्रेलियामा उडान भर्नेे कम्पनीको योजना  छ ।

बीबी एयरवेज गैर आवासीय नेपाली उद्यमी भवन भट्टद्वारा प्रबद्र्धित कम्पनी हो । उनको स्वामित्वमा जापान र नेपालमा कैयन व्यवसायहरू सञ्चालनमा छन् । भट्ट गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हुन भने उनी गैर आवासीय नेपाली संघ जापानको अध्यक्ष पनि थिए ।
बिमान अवतरण गर्ने बित्तिकै आफ्नो सन्तुष्टि व्यक्त गर्दै बीबी एयरवेजका अध्यक्ष भवन भट्टले भने, यो हाम्रो मात्र उपलब्धि होईन, सम्पुर्ण देशकै उपलब्धि हो । यो उडानले देशको आर्थिक उन्नतिको लागि नयाँ आयाम थपेको छ र हामी अझ अघि बढ्नका लागि धेरै उत्साहित भएका छौं, भट्टले भने ।
नेपालसम्मको उडान सजिलो र आरामदायक भएको र आफू बारम्बार नेपाल आउन पाएमा अत्यन्त हर्षित हुने, बीओ ४२८ जहाजका क्याप्टेन भादिम प्रुड्निकोभ्सले बताए । त्रिभुवन विमानस्थलमा एउटा जहाज अवतरण हुनु ठूलो कुरा नहोला तर निजी क्षेत्रको संलग्नताबाट भएको नेपालको अन्तर्राष्ट्रिय उड्डयनको ईतिहासमा एउटा ठूलो फड्को हो,” एयरवेजका प्रबन्ध निर्देशक शिशिर भट्टले भन्नुभयो ।

Tata
GBIME
NLIC