
सबिन मिश्र/बिजमाण्डू
काठमाडौं। घटस्थापना सुरु हुनु ठिक एक साताअघिबाट सरकारले दसैंको स्वागत गरेको छ। सरकारले आफ्ना कर्मचारीहरुलाई भदौको तलव र एक महिनाको तलव बराबर चाडवाड भत्ता मंगलबार उपलब्ध गराएको छ।
'जिल्ला जिल्लामा शिक्षकहरुका लागि पनि चौमासिक निकासा गइसकेको छ। चौमासिकसँगै दसैंको भत्ता पनि निकासा गरिसकेका छौं,' अर्थमन्त्रालयका सहसचिव वैकुन्ठ अर्यालले बिजमाण्डूलाई भने।
सरकारले बर्षभरीमा कर्मचारीका लागि कुल खर्च एक खर्ब चार अर्ब ९१ करोड २४ लाख ६१ हजार रुपैयाँ तलव भक्तामा खर्च गर्छ। यस बाहेक स्थानीय निकायमा जाने अनुदानबाट पनि केही पैसा तलब भत्तामा जान्छ। हरेक महिना करिब १० अर्बको हाराहारीमा कर्मचारीको तलब भत्तामा खर्च गर्ने सरकारले यो महिना दोब्बर अर्थात करिब २० अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
चाडवाडका लागि उपलब्ध गराइने एक महिनाको तलव बराभरको भत्ता भने कसैकसैले इद वा क्रिसमसका बेलामा लिने गरेका छन्। अधिकांसले भने दसैंमै चाडवाड भत्ता बुझ्छन्।
निजी क्षेत्रमा पनि
सरकारले दसैं वोलाउनुअघि नै निजी क्षेत्रमा भने दसैं भित्रिसकेको छ। निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठित संस्थाहरुले एक साता अगाडिनै तलब र भक्ता उपलब्ध गराइसकेका छन्। सरकारको स्वामित्वमा रहेका संस्थान, वोर्डहरुमा पनि तलव र भत्ता वितरण भइसकेको छ।
निजी क्षेत्रका नाफामूलक संस्थाले दसैंमा भक्ता मात्र होइन नाफाबाट कर्मचारीलाई लाभांस पनि उपलब्ध गराइसकेका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीलगायतले नाफाबाट केही रकम कर्मचारीलाई दसैंकको मुखमा वितरण गरिसकेका छन्। बार्षिक साधारणसभा गरेपछि बाँकी रकम उपलब्ध गराउने छन्।
यता नेपाल राष्ट्र बैंकले पनि दसैं भित्राइसकेको छ। राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा बुधबारबाटै दिएको छ। आफ्ना बैंकिङ कार्यालयहरुबाट राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा सुरु गरेको छ।
केही दिनभित्र बैंक तथा वित्तीय संस्थाहरुलाई पनि नयाँ नोट उपलब्ध गराउने तयारीमा राष्ट्र बैंक छ। बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको क्षमता हेरी राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने छ।
राष्ट्र बैंकले दसैंका लागि प्रति व्यक्ति पाँच रुपैयाँ दरका दुई बन्डल, १० रुपैयाँ दरका दुई बन्डल, २० रुपैयाँ दरका दुई बन्डल, ५० र सय रुपैयाँ दरका एक बन्डलका दरले नयाँ नोट उपलब्ध गराउन सुरु गरेको हो। केही दिनभित्रै बैंक तथा वित्तीय संस्थाहरुले पनि राष्ट्र बैंकबाट नयाँ नोट ल्याएर सर्वसाधारणलाई सटही सुविधा दिने छन्। पोहोर उब्रेका नयाँ नोट भने केही बैंकले साट्न थालिसकेका छन्।
बजारमा स्किम
कम्पनीहरुले आफ्नो उत्पादनमा ६० प्रतिशतसम्म छुटका साथै विदेश घुम्ने अफरसम्म दिन थालेका छन्। बैंकहरुले घर र गाडीको ब्याज घटाएका छन्। रेमिट्न्स कम्पनीहरुले विदेशमै आफन्त भेट्न पाउने अफरका साथै हात खाली नजाने स्किम ल्याएका छन्। इलेक्ट्रिकल सामानहरुमा पनि छुटको अफर छ।
यात्रु वाहिरिन थाले
दसैं नजिकिन थालेपछि काठमाडौंमा रहेकाहरु वाहिरिन थालेका छन्। मेचीदेखि महाकालीसम्म घर भएकाहरु काठमाडौंलाई धामाधम छाड्न थालेका छन्। दसैंको छुट्टी सुरु हुनुअघि नै टिकट नपाइने डरले यात्रुहरु धमाधम वाहिरिन थालेका हुन्।
बढीजसो यात्रु भने सप्तमीदेखि वाहिरिन्छन्। अहिले भने केही विद्यार्थी, वैदेशिक रोजगारीमा रहेकाहरु, गृहिणीलगायत वाहिरिन थालेका हुन्।
सुपथ मूल्य पसलबाट उपभोक्ताले दैनिक उपभोग्य वस्तुहरु चामल, चिनी, नुन र घ्यू सस्तो मूल्यमा पाउनेछन् भने अन्य वस्तुमा पनि बजार मूल्य भन्दा केही सस्तोमा सामान पाइने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
सुपथ मूल्य पसल पनि आजैबाट
सरकारले आज (बुधबारदेखि) सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। चाडपर्वलाई लक्षित गर्दैसस्तो मूल्यमा सामान बेच्ने उद्देश्यले सरकारले यस्तो पसल सञ्चालनमा ल्याएको हो।
सरकारले चामलमा बजार भाउ भन्दा दुई रुपैयाँ छुट दिएको छ। यस्तै चिनीमा पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ र दुग्ध विकास संस्थान डिडिसीले घ्यूमा १० रुपैयाँ छुट दिएको छ।
सुपथ मूल्य पसलबाट खाद्य संस्थानले मोटो चामल, मोटा मंसुली, सोना मन्सुली, जिरा मसिनो र बास्मती चामल बेच्ने तयारी गरेको छ। संस्थानका अनुसार मोटो चामल ४५ रुपैयाँ, मोटा मंसुली चामल ४७ रुपैयाँ, सोना मंसुली, जिरा मसिनो चामल ५५ तथा बास्मती चामल ७५ रुपैयाँमा बेच्ने संस्थानले जनाएको छ।
सरकारले काठमाडौं उपत्यकाको रामशाहपथ, टेकु, कालीमाटी, सतुङ्गल, कोटेश्वर, बल्खु, जाउलाखेल, सूर्यबिनायकलगायतका उपत्यका भित्रका आठ स्थान तथा देशका अरु ६३ स्थानमा गरी ७१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।
बजारमा भन्दा सस्तोमा अधिकांश सामान
सरकारले साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानसँगको सहकार्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। पसलमा ती संस्थानले उपलब्ध गराउने विविन्न खाद्य तथा उपभोग्य वस्तुहरु उपलब्ध छन्।
सुपथ मूल्य पसलमा दाल, गेडागुडी, तेललगायतका उपभोग्य वस्तु पनि अहिलेको बजारभाउ भन्दा सस्तोमा उपलब्ध हुने वाणिज्य मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए।
'हरेक सामान बजारमा पाइने भन्दा केही न केही सस्तो छ,' सुवेदीले भने, 'उपभोक्तालाई राहत दिने गरी सकेसम्म सबै वस्तुमा छुट दिनेछौं।'
सुपथ मूल्य पसलबाट बेसार, दाल, गेडागुडी, मसला, तेललगायतका सामान बजारमा प्रचलित भाउ भन्दा दुईदेखि पाँच रुपैयाँ सस्तोमा उपलब्ध गराइएको छ।
इलेक्ट्रोनिक्स सामान पनि पाइने
सुपथ मूल्य पसलमा खाद्य सामान मात्रै नभइ विद्युतीय सामान पनि राखिएको छ। यसपटक विभिन्न कम्पनीले निर्माण गरेका 'होम अप्लाएन्सेस' पसलमा राखिएको सुवेदीले बताए।
यस्ता पसलबाट नेशनल ट्रेडिङले उपलब्ध गराउने टुल आइटममा ३० प्रतिशत, मेशिनरी सामानमा ४० प्रतिशत तथा टिभी फ्रिजलगायतका सामानमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सुवेदीको भनाइ छ।
यस्तै बाल्ट्राको सामानमा ५ प्रतिशत र सिजीका सामानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सुपथ मूल्य पसलमा विभिन्न किसिमका मोटरहरु, वाटर पम्प, रेफ्रिजेरेटर, प्रेसर कुकर, राइस कुकरलगायतका विभिन्न सामग्री उपलब्ध रहेका छन्।
अर्ग्यानिक चिया पनि छुटमै
सुपथ मूल्य पसलमा यस पटक कञ्चन्जंघा टि स्टेटले उत्पादन गरेको अर्ग्यानिक चिया, मसला, विभिन्न फलफूलका जुशलगायतका घरायसी सामान पनि उपलब्ध गराएको छ।
ती सामानहरु दुईसय रुपैयाँदेखि पाँचसय रुपैयाँसम्म उपलब्ध गराउने कञ्चन्जंघा टि स्टेटकी निर्देशक शान्ता बाँसकोटा कोइरालाले बताइन्।
कम्पनीले दशैं तिहारका लागि हरेक सामानमा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ।
डिडिसीलाई छुट बढाउन मन्त्रीको निर्देशन
सुपथ मूल्य पसल उदघाटन गर्दै मन्त्री थापाले दुग्ध विकास संस्थानलाई धेरै वस्तुमा छुट दिन निर्देशन दिए।
'तपाईंहरुकोमा के केमा छुट दिनुभएको छ?' मन्त्री थापाले डिडिसीका अधिकारीसँग प्रश्न गरे, 'अहिले दुध, दही सबै दैनिक उपभोग्य र अत्यावश्यक वस्तु भइसकेका छन्, चाडपर्वमा ती सबै वस्तुमा छुट दिने व्यवस्था मिलाउनुस।'
मन्त्रीको प्रश्न सुनेपछि डिडिसीका कार्यवाहक महाप्रबन्धक गंगाप्रसाद तिम्सिनाले अहिले घ्यूमा मात्रै छुट दिइएको र पछि त्यसलाई विस्तार गर्न सक्ने बताए। डिडिसीले दशैंमा घ्यूमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ।
|