काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो वर्ष पनि लोडसेडिङ १२ घण्टामा सिमित गर्ने तयारी भैरहेको जानकारी दिएका छन् । मंगलवार देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री भट्टराइले आगामी हिउँदमा पनि लोडसेडिङ १२ घण्टाभन्दा माथि जान नदिन कार्ययोजना बनाइरहेको जानकारी दिए । उनले भने, अघिल्लो वर्ष १६ घण्टा पुगेको लोडसेडिङलाई अथक प्रयासपछि १२ घण्टामा सिमित गरियो ।
प्रधानमन्त्री भट्टराइले २० वर्षदेखि रोकिएको ७५० मेगावाटको पश्चिम सेती बन्ने अवस्थामा पुगेको जानकारी दिए, उनले कर्णाली, मस्र्याङ्गदी, अरुण लगायतका परियोजनाको पिडिए केही महिनामै हुने समेत बताए । त्यसैगरी बुढीगण्डकी, नस्ल्याङगडजस्ता परियोजनाको विकास गर्न पनि सरकारले काम गरिरहेको जानकारी दिए ।
प्रधानमन्त्री भट्टराइले आर्थिक समृद्धिका लागि दोहोरो अंकको आर्थिक वृद्धि आवश्यक हुने र त्यसका लागि अर्बौं रुपैयाँको लगानी चाहिने बताए । प्रधानमन्त्रीले लगानी आर्कषण गर्न लगानी बोर्डको गठन भएको, लगानी वर्षको घोषणा गरिएको र आर्थिक सल्लाहाकार परिषद्को गठन गरी त्यसमा निजी क्षेत्रलाई समावेश गरिएको जानकारी दिए ।
यो वर्षदेखि पर्यटनलाई पनि प्राथमिकता प्राप्त उद्योगमा राखिएको जानकारी पनि उनले दिए । संस्थान सुधार गर्न सार्वजनिक संस्थान निर्देशन बोर्डको गठन गरिएको पनि उनले बताए । पोखरा र भैरहवामा विमानस्थल बनाउन सरकारले प्रयास गरिरहेको जानकारी दिंदै निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउन पनि काम सुरु भएको बताए ।
काठमाडौं–तराई दु्रतमार्गको काम अघि बढेको, मध्य पहाडी लोकमार्गमा पनि सकारात्मक प्रगति भएको बताउँदै प्रधानमन्त्री भट्टराइले ठूला परियोजनालाई प्रधानमन्त्रीले नै अनुगमन गर्ने परिपाटीको विकास गरिएको बताए ।
सरकारी र निजी क्षेत्रको साझेदारीमा काठमाडौंबाट हेटौडा जोड्ने सुरुङ मार्गमा लाखौं जनताको जनसहभागितमा बनाउन लागिएको बताउँदै उनले मनाङको सदरमुकाम चामेमा यो वर्ष सडक पुगेको र मुगुको गमगढी पनि केही महिनामा पुग्ने जानकारी दिए । प्रधानमन्त्रीले अब हुम्ला र जुम्लाको सदरमुकाम मात्र सडक सञ्जालबाट जोडिन बाँकी रहेको र ती जिल्लामा सडक पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरेको बताए ।
त्रिभूवन विमानस्थल विस्तार र स्तरोन्नती गर्न लागिएको जानकारी दिंदै व्यवस्थापनलाई प्रभावकारी बनाउने विषय आलोचना गर्नुपर्ने कुनै कारण नभएको बताए । उनले फेसबुकबाट निरन्तर खबरदारी गर्ने सबै युवालाई सलाम पनि टक्राए ।
