एनबीमाथि सर्वसाधरणको भरोसा उठ्यो, दुई बैंकको सेयर मूल्यमा उच्च गिरावट

बिजमाण्डू
२०६९ भदौ १० गते ००:०० | Aug 26, 2012
एनबीमाथि सर्वसाधरणको भरोसा उठ्यो, दुई बैंकको सेयर मूल्यमा उच्च गिरावट


काठमाडौं । राष्ट्र बैंकले एनबी बैंकका सञ्चालकलाई कारवाही प्रक्रिया सुरु गरेपछि त्यसको असर नेपाल स्टकमा देखिएको छ । धेरै मुनाफा कमाउने सूचीका आधारमा आठौं स्थानमा रहेको एनबीको आइतवार प्रतिसेयर १० रुपैयाँले घट्यो । यो वर्ष कृषि, नविल, राष्ट्रिय बाणिज्य नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टड, एभरेष्ट र हिमालयन बैंकपछि बढी नाफा कमाउने बैंकको सूचीमा एनबी बैंक थियो ।
तर नाफा कमाए पनि संस्थापकहरुप्रति अविश्वास बढेपछि एनबीको सेयर ओरालो लागेको हो । शुक्रवार १३५ रुपैयाँमा कारोवार भएको एनबीको सेयर आइतवार १२२ रुपैयाँसम्म झरेर कारोवार भयो । दुई रुपैयाँ बढेपछि एनबीको आइतवारको अन्तिम कारोवार १२४ रुपैयाँमा भयो । आइतवार स्टक बजारमा सबैभन्दा बढी गुमाउनेको दोस्रो स्थानमा एनबी रह्यो । एनबीको ७.४१ प्रतिशतले सेयर मूल्य घटेको हो ।
एनबी समूहले नै प्रवद्र्धन गरेको अर्को बैंक नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी)को सेयर मूल्य समेत आइतवार ओरालो लाग्यो । एनसीसीको प्रतिसेयर पाँच रुपैयाँले ओरालो लागेर ११५ रुपैयाँमा कारोवार भयो । एनसीसीको सेयर मूल्य आइतवार ओरालो लागेर १११ रुपैयाँसम्म झरेको थियो ।
एनबी समूहले प्रवद्र्धन गरेका दुई संस्था नेशनल हाइड्रो र एनबी इन्सुरेन्सको सेयर कारोवार भने स्टकमा स्थगित छ । नेशनल हाइड्रोको साधरणसभा स्थगित गरेपछि र एनबीमा संस्थापक एनबी समूहले घोटला गरेपछि कारोवार स्थगित भएको हो ।
आइतवार स्टक मार्केटमा बैंकिङ, विकास बैंक, जलविद्युत, फाइनान्स समूहको सेयर सूचकांक रातो भयो । होटल समूहमा रयाडिशनको सञ्चालक ओरियण्टल होटलस्को सेयर मूल्य एक रुपैयाँले बढेपछि होटल समूहमा हरियो बत्ती बल्यो । टेलिकमको सेयरमूल्य १४ रुपैयाँले बढेपछि अन्य समूहको सुचकांकमा पनि हरियो बत्ती बल्यो । आइतवार नेप्से ०.३६ अंकले तल झर्दै ३९७.१७ अंकमा आइपुग्यो ।

Tata
GBIME