
काठमाडौं । स्टकमा विशाल बजार जुन फुर्तीका साथ बिहिवार झुल्किएको थियो, सबै फुर्ती गुमाउँदै आइतवार पनि प्रकट भएको छ । आक्कल झुक्कल कारोवार हुने विशाल बजारको शुक्रवार र आइतवार कारोवार भयो । शुक्रवार प्रतिकित्ता ३९ रुपैयाँ बढेको विशाल बजारको सेयर आइतावर ७९ रुपैयाँ घटेर कारोवार भयो । आइतवार बिशाल बजारका दुई कारोवारबाट ५१० कित्ता सेयर कारोवार भयो । शुक्रवार बढेर प्रतिसेयर दुई हजार रुपैयाँमा कारोवार भएकोमा आइतवार एक हजार ९२१ रुपैयाँमा कारोवार भयो ।
आइतवार स्टकमा सबैभन्दा धेरै सेयर संख्या भएको कृषि विकास बैंक र नेपाल दूरसञ्चार कम्पनीको चाँदी कटाइ भयो । कृषि विकास बैंकको प्रतिसेयर आठ रुपैयाँ बढेर कारोवार भयो भने टेलिकमको १४ रुपैयाँ बढेर कारोवार भयो । कृषि विकास बैंकको प्रतिसेयर १७३ रुपैयाँ पुग्यो भने नेपाल टेलिकमको ५५९ रुपैयाँ पुग्यो । बैंक अफ काठमाण्डूको प्रतिसेयर १५ रुपैयाँ ओरालो लाग्यो, नविल बैंकको २६ रुपैयाँ, स्ट्याण्डर्ड चार्टडको प्रतिसेयर २५ रुपैयाँले घट्यो । स्टकमा आइतवार इन्सुरेन्स समूह चम्कियो । एभरेष्ट इन्सुरेन्स १५ रुपैयाँले, सगरमाथा इन्सुरेन्स ४१ रुपैयाँ, शिखर इन्सुरेन्स २५ रुपैयाँ बढेर कारोवार भयो ।