
काठमाडौं । बहराइनको राष्ट्रिय ध्वजाबाहक गल्फ एअरले काठमाडौं–बहराइन–काठमाडौं रुटमा दैनिक दुई उडान भर्ने भएको छ । यात्रीको संख्यामा वृद्धि भएपछि गल्फ एअरले शुक्रवार सातामा थप तीन उडान थप्ने घोषणा गरेको हो । यो उडान तालिका १० सेप्टेम्वरबाट लागू भएर जाडो मौसम भरि रहने कम्पनीले जनाएको छ ।
सेप्टेम्वर १० देखि साताको ११ उडानबाट १४ उडान भएका छन्, कम्पनीले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा छ । हजका लागि जाने समय भएको र जाडो मौसमका पर्यटकहरुको वृद्धि भएपछि उडान थपिएको हो । नयाँ सेड्युलले गल्फ मुलुकमा काम गर्न जाने कामदार र युरोप यात्रा गर्ने नेपालीका लागि पनि सहज हुने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले विमानको उडान समय समेत परिवर्तन गरेको जानकारी दिएको छ । अबदेखि गल्फ हरेक दिन बिहान आठ बजेर ५५ मिनेट र राती नौ बजेर ५ मिनेटमा त्रिभुवन विमास्थलमा अवतरण गर्ने छ भने बिहान ११ बजेर पाँच मिनेटमा तथा राती ११ बजेर १५ मिनेटमा नेपालबाट बहराइनका लागि उड्ने छ ।