चौथो त्रैमासको नाफामा नेप्सेको चिसो प्रतिक्रिया, बैंकको सेयरमूल्य घट्यो

बिजमाण्डू
२०६९ साउन ३० गते ००:०० | Aug 14, 2012
चौथो त्रैमासको नाफामा नेप्सेको चिसो प्रतिक्रिया, बैंकको सेयरमूल्य घट्यो


काठमाडौं । नेपालको सेयर बजारले चौथो त्रैमासमा बाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा चिसो प्रतिक्रिया जनाएका छन् । सोमवार र मंगलवार जुन–जुन बैंकका वित्तीय विवरण सार्वजनिक भएका छन्, ती बैंकको सेयर मूल्य घटेको छ ।
अघिल्लो आर्थिक वर्षमा एक अर्ब १७ करोड रुपैयाँ नाफा गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३३ करोड नाफा कमाएको छ तर मंगलवार बैंकको सेयर आठ रुपैयाँले घट्यो । स्ट्यानडर्ड चार्टड बैंकले  अघिल्लो आर्थिक वर्षभन्दा पाँच करोड बढी नाफा गर्दै एक अर्ब १७ करोड नाफा गरेको वित्तीय विवरण आज प्रकासित गरेको थियो तर आजै बैंकको प्रतिसेयर मूल्य १० रुपैयाँले घट्यो ।
तेस्रो त्रैमासमा १५ करोड रुपैयाँमा घाटामा गएको किष्ट बैंकले चौथौ त्रैमासमा १० करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गर्यो । किष्टको सेयरमूल्य नघटे पनि बजारले जबरजस्त स्वागत भने गरेन । आज नेप्सेमा किष्टको प्रतिसेयर मूल्य जम्मा एक रुपैयाँले बढ्यो ।
अघिल्लो वर्ष ३८ करोड नाफा कमाएको लुम्बिनी बैंकले गतवर्ष जम्मा १९ करोड नाफा कमएको वित्तीय विवरण सार्वजनिक भए पनि बजारले त्यसलाई ठूलो प्रतिक्रिया जनाएन । आज लुम्बिनी बैंकको प्रतिसेयर मूल्य जम्मा छ रुपैयाँले बढ्यो ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी मुनाफा कमाएको नविल बैंकको सेयर मूल्य पनि आज बढेन । नविलले एक अर्ब ७३ करोड रुपैयाँ नाफा कमाउँदा पनि मंगलवार प्रतिसेयर मूल्य छ रुपैयाँले घट्यो । कुमारी बैंकको नाफा २५ करोडबाट २७ करोड पुगेको वित्तीय विवरण सोमवार प्रकासित भएको थियो त्यसको नकारात्मक असर मंगलवार पनि नेप्से बजारमा देखियो । कुमारीको प्रतिसेयर १० रुपैयाँले घट्यो ।
सबैभन्दा ठूलो मार नेपाल एसबीआई बैंकलाई पर्यो । अघिल्लो आर्थिक वर्षमा ४६ करोडको नाफा कमाएको बैंकले गतवर्ष एक करोड नाफा बढाएर ४७ करोड रुपैयाँ पुर्यायो । तर स्टक बजारमा नेपाल एसबिआईको मंगलवार मात्रै प्रतिसेयर २७ रुपैयाँले घट्यो ।
त्यस्तै झट्का अघिल्लो वर्षभन्दा तीन करोडले नाफा कम गरेको सानिमा बैंकलाई पनि लाग्यो । सानिमाको प्रतिसेयर १६ रुपैयाँले घट्यो । पाँच करोडको नाफा २२ करोड रुपैयाँ पुग्दा पनि एनएमबीका सेयरधनीले स्वागत गर्न सकेनन्, एनएमबीको प्रतिसेयर मूल्य तीन रुपैयाँले घट्यो । १३ करोडको नाफा ७० करोड पुर्याए पनि नेपाल बंगलादेश बैंकको मंगलवार प्रतिसेयर पाँच रुपैयाँले घट्यो ।
बुटवल पावरलाई स्वागत
मंगलावर चिलिमे हाइड्रोको सेयर मूल्य घटे पनि लगानीकर्ताहरुले बुटवल हाइड्रोपवारलाई जबरजस्त स्वागत गरे । मंगलवार बुटवल पावरले अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष २४ करोडले नाफा बढेको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको थियो । ३० करोडको नाफा बढेर ५४ करोड रुपैयाँ पुगेपछि मंगलवार बुटवल पावरको प्रतिसेयर मूल्य ३४ रुपैयाँले बढ्यो । ५७० रुपैयाँमा कारोवार भैरहेको बुटवल पावरको सेयर मूल्य मंगलवार बढेर ६०४ रुपैयाँ पुगेको छ । मंगलवार नै वित्तीय विवरण प्रकासित गरेको ओरियण्टल होटलको सेयर मूल्य समेत एक रुपैयाँले बढेर आज कारोवार भयो । अधिकांश बैंकको सेयर ओरालो लागेपछि मंगलवार नेप्से सूचक चार अंकभन्दा तल झरेको छ ।

Tata
GBIME