काठमाडौ । स्वदेशको रोजगार क्षेत्रलाई हेर्ने गरी स्थापना गरिएको श्रम विभागको पुर्नसंरचना हुने भएको छ । सरकारले हालै श्रम तथा यातायात मन्त्रालय परिवर्तन गरेर श्रम तथा रोजगार मन्त्रालय बनाएपछि श्रम विभागको पनि पुर्नसंरचना हुन लागेको हो ।
मन्त्रालयका अनुसार श्रम विभाग अब श्रम तथा रोजगार विभाग हुनेछ । योसँगै नेपालभरीका श्रम कार्यालयको नाम पनि परिवर्तन हुनेछ । नेपालभरी १० वटा श्रम कार्यालय सञ्चालनमा छन् । श्रम तथा रोजगार विभागसँगै यसको दायित्व पनि थपिनेछ ।
यो विभागले स्वदेशी रोजगार बजार र त्यसको तथ्यांकलाई अध्ययन गर्नुपर्नेछ, मन्त्रालयका एक अधिकारीले भने । नेपाली श्रम बजारमा प्रत्येक वर्ष चार लाख युवा आउने गर्छन् । यो मध्ये न्यूनसंख्याले मात्रै स्वदेशमा रोजगारी पाउँछन् । वैदेशिक रोजगार विभागका अनुसार गतवर्ष पौने चार लाख नेपाली श्रमका लागि विदेशिएका थिए ।
