काठमाडौ । पेट्रोलियम व्यवसायीले आफ्नो कमिसन बढाउन कार्टेलिङ सुरु गरेका छन् । पेट्रोलियम क्षेत्रका तीन वटा संगठनले आफ्ना मागलाई पूरा गर्न एकीकृत भएर जान लागेका हुन् । ग्यास उद्योग संघले आफुले खाईपाई आएको कमिसनको माग गर्दै साउन २३ गतेदेखि थालेको आन्दोलनलाई नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले ऐक्यवद्धता जनाएको छ । यो आन्दोलनको ऐक्यवद्धताले पेट्रोलियम व्यवसायी कार्टेलिङ गरेर सरकारलाई झुकाउने रणनीतिमा रहेको स्पस्ट हुन्छ ।
ग्यास उद्योगको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने निर्णय भयो, एसोसिएसनका उपाध्यक्ष मनोज दासले शनिबार भएको भेलापछि जानकारी दिए, ग्यासका मुद्धालाई सघाउने निर्णय भएको छ, उनले भने । एसोसिएसनले पनि आफुले खाईपाई आएको कमिसन भदौभित्र नबढाएमा आन्दोलनमा जाने निर्णय गरेको छ । सबै संगठनले कमिसन बढाउन आन्दोलनमा जाने र सरकारलाई झुकाएर नाफा बढाउने नियत राखेको आयल निगमका एक अधिकारीले बताए ।
पेट्रोलियम क्षेत्रमा बदनाम व्यक्तिको रजगज सुरु भयो । यसले यो क्षेत्रलाई थप बदनाम बनाउने र उपभोक्तालाई मारमा पार्ने निश्चित छ,’ उनले भने, ‘आन्दोलनले त्यही विषयलाई पुष्टि गरेको छ । यो भेलामा एसोसिएसन, ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ट्ंयाकर ढुवानी व्यवसायी महासंघका पदाधिकारीको समेत सहभागिता थियो । यी तीनवटै संगठनलाई एकीकृत बनाएर लैजाने रणनीति दुई साताअघिनै भएको थियो ।
प्रारम्भिक चरणको छलफलमा तीन वटै संगठन एकीकृत बनाएर थप नाफाको लागि सरकारलाई दबाब दिने रणनीति बनेको छ । तीनवटै संगठनलाई एकीकृत बनाउने अभियानमा सुगम ग्यासका सञ्चालक घिमिरेले नेतृत्व लिएका छन् ।
अभियानमा महासंघका अध्यक्ष खगेश्वर बोहोरा र एसोसिएसनका महासचिव विश्व अर्याल सक्रिय थिए । घिमिरे, बोहोरा र अर्याल ट्यांकर ढुवानी व्यवसायीमा पाटर्नर हुन् । तीनवटै संगठनलाई एकीकृत बनाउन हालै गोकर्ण भिजेल रिर्सोटमा पहिलो चरणको छलफल समेत भएको थियो । घिमिरेले एक वर्षअघि सिलिन्डरको फूटरिङ र नेकरिङ गरेको आरोपमा मुद्वा खेपिरहेका छन् । १५ हजार सिलिन्डरको फूटरिङ र नेकरिङ काटेको आरोपमा सुगम ग्यास ६ महिना बन्द भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले घिमिरेले उपभोक्ताको ज्यानमाथि खेलवाड गरेको भन्दै उपभोक्ता ऐन २०५४ अनुसार मुद्वा दायर गरेको छ । यो मुद्वा अहिले अदालतमा चलिरहेको छ ।
अध्यक्षलाई सुमो गाडी
एशोसिएशनको शनिवार आयोजना गरेको भेलाले अध्यक्षका लागि २२ लाख रुपैयाँ मूल्य पर्ने टाटा सुमो गाडी किन्ने निर्णय पनि गरेको छ ।