
लण्डन । तपाईँ एउटा बन्दाकोभीलाई दुई हजार चार सय रुपैयाँ तिरेर किन्नुहुन्छ ? एक लिटर पानीलाई सात सय ५० तिर्नुहुन्छ ? अनि एक झोला कुखुराको मासु किन्न पाँच हजार आठ सय हाल्नुहुन्छ ? तपाईं मात्र होईन अधिकांशले यत्ति धेरै रकम खर्चेर यी वस्तु किन्दै, किन्दैन । तर सात अर्बभन्दा बढि जनसंख्या भएको यो विश्वमा सबै तपाईजस्तो पनि हुँदैन ।
विश्वस्तरीय फाईभस्टार रेष्टुरेन्टभन्दा पनि महँगो मूल्यमा दैनिक खाद्यवस्तु क्यानाडाको उत्तरी भागमा रहेको क्षेत्र नुनाभुतका वासिन्दाले खरिद गर्ने गर्छन । एक बन्दाकोभीको २७ अमेरिकी डलर, एक झोला कुखुराको मासु ६५ डलर र १२ लिटर पानिको जार एक सय डलर तिर्ने यस क्षेत्रका बासिन्दाको कुल कमाईको एक तिहाई खर्च खानामा हुन्छ । यहाँ वसोबास गर्ने सामान्य परिवारले खानामा प्रतिहप्ता पाँच सय देखि छ सय डलर खर्च गर्ने गरेका छन् ।
नुनाभुतको न्यूनतम ज्यालादर मुलुककै उच्च छ – प्रति घण्टा ११ डलर, तर एक घण्टा कमाएको पैसाले एक लिटर पानी मात्रै आउँछ । यसमाथि यो क्षेत्रका १६ प्रतिशत मानिसहरु बेरोजगार छन् । महंगीवीच त्यस क्षेत्रका मानिसहरुको जीवन कहालिलाग्दो देखिन्छ । धेरै बच्चाहरु भोकै विद्यालय जान्छन र पर्याप्त खाना पाउँदैनन् ।
नुनाभूतको राजधानी इक्वालुइटदेखि क्यानडाको राजधानी मन्ट्रियलमा समेत यही चर्का मूल्यलाई लिएर प्रदर्शनहरु हुने गरेका छन् तर पनि मूल्य उस्तै छ ।
पश्चिम युरोपको जत्ति नै भु–भागमा फैलिएको नुनाभुत मा ३० हजार भन्दाबढी जनसंख्या वसोवास गर्छन । उत्तरी भागमा भएको हुनाले यहाँको मौसम प्राय बरफयु्क्त हुन्छ । यहि कारणले यो क्षेत्रमा कृषि उपजहरुको संभावना छैन । स्थल मार्गको पहुँच निक्कै कम रहेको यो क्षेत्रमा अधिकांश महिना हवाई मार्गबाट मात्रै आवागमन गर्नुपर्दछ । ‘यहाँ सडक वा रेल मार्ग छैनन त्यसैले दैनिक उपभोग्य वस्तुहरु हरेक दिन जसो हवाईमाध्यमबाट नै ल्याइन्छन,’ क्षेत्रीय राजधानी इक्वालुइटका मेयर मडेलेइन रेडफ्रेन भन्छन,
प्रान्तिय राजधानीमा ताजा खाद्यवस्तु, दुध, पाउरोटीजस्ता वस्तु दैनिक आउँछ टाढाका स्थानमा भने साप्ताहिक रुपमा मात्रै ढुवानी हुनेगर्छ । क्यानाडाको दुर्गम भागमा १३२ स्टोर संचालन गरिरहेको नर्थ वेष्ट कम्पनीको उत्तरी क्यानाडा एकाईका उपाध्यक्ष माईकेल म्याकमुलेनका अनुसार दक्षिणी भागको तुलनामा उत्तरी मागमा खाद्यान ढुवानी खर्च ११ गुणा बढी लाग्छ ।
उनका अनुसार सो क्षेत्रमा तोकिएको बिक्री मूल्यमा १३ प्रतिसत ढुवानी खर्च हुन्छ, यसैगरी यो क्षेत्रमा विद्युत महसुल पनि उच्च छ ।
संघीय सरकारको उत्तर क्यानाडा पोषण कार्यक्रम (एनएनसिपि) ले स्वास्थ्यकालागि लाभदायक एवं अत्यावश्क वस्तुहरु सुलभ दरमा बिक्री गर्ने स्टोरहरुलाई बार्षिक ५ करोड ३९ लाख अनुदान दिने गरेको छ । यो अनुदानले चार लिटर दुधको मूल्य १८ डलर १९ सेन्टबाट घटाएर ७.७९ डलरमा झारेको भए पनि राज्यले अझै धेरै गर्न बाँकि भएको म्याकमुलेन बताउँछन् । रोयटर्स