एभरेष्टको रुपन्देहीमा एटिएम मेशिन, सिटिजन्स बैंकले ल्यायो विदेश घुम्नेलाई डलर डेबिट कार्ड



बिजमाण्डू
२०७० असार ९ गते ००:०० | Jun 23, 2013

काठमाडौं । एभरेष्ट बैंकले रुपन्देहीमा नयाँ एटिएम मेशिन सञ्चालनमा ल्याएको छ । कम्पनीले रुपन्देही कमहरियाको जगदम्बा सिन्थेटिक उद्योग परिसरमा एटिएम मेशिन राखेको हो । योसहित बैंकका ६७ एटिएम, ५० शाखा, पाँच एक्सटेन्सन काउण्टर र २० राजस्व संकलन केन्द्र भएका छन् ।
रुपन्देहीको एटिएम बैंकका सञ्चालक डा. बालगोपाल वैद्य र जगदम्बा सिन्थेटिकका महाप्रवन्धक विदुर ढुङ्गानाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका अन्य सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पनि पुगेका थिए ।

एभरेष्ट बैंक अहिले व्यवसायिक र सक्षम बैंक बन्दै गएको जानकारी बैंकले आइतवार जारी प्रेस विज्ञप्तिमा छ । बैंकले आन्तरिक सञ्जाल बलियो बनाउनुका साथै विश्वव्यापी बलियो सञ्जाल बनाएको दावी गरिएको छ । पञ्जाव नेशनल बैंक, भारतको साझेदारीले बैंकको आकार, सञ्चालन विस्तार हुँदै गएको तथा नेपालमा पनि निजी क्षेत्रको नेतृत्वदायी बैंक बनेको प्रेस विज्ञप्तिमा छ । बैंकका डेबिट कार्ड एससिटि सञ्जालसहित नेपालका १२ सय एटिएममा र भारतका छ हजार एटिएममा चल्ने जानकारी बैंकले दिएको छ । नेपालबाट भारत जाने उपभोक्ताले नगदको सट्टा एभरेष्ट बैंकको डेबिट कार्ड लगे पुग्ने पनि बैंकको प्रेस विज्ञप्तिमा छ । बैंकले देशका अन्य हिस्सामा पनि आफ्नो सेवा विस्तार गर्ने तथा ग्रामिण क्षेत्रलाई केन्द्रमा राखेर काम गर्ने घोषण समेत गरेको छ ।
सिटिजन्सको डलर डेबिट कार्ड
उता सिटिजन्स बैंकले भिसा इन्टरनेसनल डलर डेबिट कार्ड सेवा उपलब्ध गराउने भएको छ । बिदेश भ्रमणमा जाने ग्राहकलाई सुविधा प्रदान गर्न बैंकले भिसा इन्टरनेसनल डलर कार्ड वितरण गर्न लागेको आइतवार जारी प्रेस विज्ञप्तिमा छ । अमेरिकी डलरमा बचत खाता वा चल्ती खाता भएका ग्राहकले उक्त कार्डको सुविधा प्राप्त गर्न सक्न बैंकले जानकारी दिएको छ । बैंकले डलरको बचत खातामा दुई प्रतिशत ब्याज पनि दिंदै आएको छ । यो कार्ड विश्वभर रहेका बिभिन्न एटिएम तथा पिओएस मेशिनमा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यसैगरी बैंकले आफ्नो शाखारहित बैंकिङ्ग सेवा अभियानलाई विस्तार गर्ने क्रममा चितवनको गुञ्जनगरमा ३५औं शाखारहित बैंकिङ्ग सेवा सफलता पुर्वक सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकले शाखारहित सेवालाई निरन्तरता दिने र शाखारहित बैंकिङ्ग सेवाको संख्या ५० पु¥याउने तयारी गरिरहेको बैंकका प्रमुख सञ्चालन अधिकृत गणेशराज पोखरेलले जानकारी दिए ।

Tata
GBIME
Zonsen