
काठमाडौ । चाडपर्व नजिकिँदै गएपछि सरकार र निजी क्षेत्र दुबै मिलेर चिनीको भाउ बढाएका छन् । सरकारको स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले चिनीको मूल्य ७१ रुपैयाँ पुर्याएको छ भने निजी क्षेत्रले थोक मूल्य छ रुपैयाँ बढाएका छन् ।
खुद्रा बिक्रेताले चिनी ७५ रुपैयाँ किलोमा बिक्री गरिरहेका छन् । केही दिनअघिसम्म चिनीको मूल्य ६८ रुपैयाँ थियो । यसअघि निजी क्षेत्रले बढाउँदा सरकारी स्वामित्वको साल्ट ट्रेडिङले भाउ बढाउदैन्थ्यो । साल्ट ट्रेडिङले भाउ नबढाउँदा बजारमा चिनीको मूल्य कम गर्न दबाब मिल्थ्यो । स्रोतका अनुसार चिनी उद्योग संघ र कर्पोरेसनका उच्च व्यवस्थापनको मिलेमतोमा चिनीको मूल्य बढाइएको हो ।
सरकारले मूल्यमा हस्तक्षेप गर्न सरकारी संस्थानलाई प्रयोग गर्न भन्सार छुटमा चिनी किन्न सहुलियत दिएको छ तर अहिले व्यवसायीसँगै मिलेर चिनीको मूल्य बढाइएको छ, कर्पोरेसनका एक अधिकारीले भने, व्यवसायीबाट पाएको लाभका आधारमा मिलेमतोमा चिनीको मूल्य बढाइएको हो ।