चुनाव तय भएपछि पनि स्टकमा देखिएन दम, नेप्से महाप्रवन्धक विहिन, यसै साता नियुक्ति

बिजमाण्डू
२०७० असार २ गते ००:०० | Jun 16, 2013
चुनाव तय भएपछि पनि स्टकमा देखिएन दम, नेप्से महाप्रवन्धक विहिन, यसै साता नियुक्ति


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जले अपेक्षाकृत वृद्धि हाँसिल गर्न नसके पनि कारोवार रकममा भने राम्रै वृद्धि भएको छ । नेप्से ०.५७ अंकको सुधारसहित कारोवार पनि दश करोड रुपैयाँ नाघेको छ । पछिल्ला केही दिनदेखि औषतमा छ करोड रुपैयाँको कारोवार हुँदै आएको नेपाल स्टकमा आइतवार भने ११ करोड ३४ लाख रुपैयाँको सेयर कारोवार भयो ।
सबैभन्दा बढी एभरेष्ट बैंकको प्रतिकित्ता १५२५ रुपैयाँका दरले ३३ हजार ५६० कित्ता सेयरको कारोवार भयो । यो कारोवार एक्लै पाँच करोड १० लाख रुपैयाँ बराबरको थियो । आइतवार बैंकको सेयर १.३८ अंकले सुधार भयो, होटल, जलविद्युत, फाइनान्स र इन्सुरेन्स समूहको सेयर भने तल झर्यो । बैंकलाई  विकास बैंक र उत्पादन समूहको सूचकमा भएको वृद्धिले साथ थियो । सामान्य वृद्धिपछि सूचक ४९४.९१ अंकमा बजार बन्द भयो ।
संविधानसभा चुनावको मिति घोषणापछि सेयरमा उछाल आउने पूर्वानुमान गरिएको थियो । तर मिति घोषणापछिको पहिलो सेयर कारोवारमा मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीको बन्दले ग्रहण लगाइदियो । यही कारण आइतवार सेयर बजारमा देखिनुपर्ने तेजी देखिएन । त्यसो त अघिल्लो साता भर लडकिएको बजारमा साताको पहिलो दिन नै वृद्धिको सुरुवात भने भयो ।
आइतवार अरुणभ्यालीको सेयर थप १६ रुपैयाँले घटेर प्रतिकित्ता २८३ मा झरेको छ, त्यसैगरी बोटलर्स नेपाल(तराई)को सेयर भने १५ रुपैयाँ माथि चढेर १३०५ मा कारोवार भएको छ । बुटवल पावरको समेत १५ रुपैयाँ घटेर ७६५ मा कारोवार भयो । बुटवल पावरको पनि आइतवार १४ हजार कित्ता सेयर एक करोड आठत लाख रुपैयाँमा कारोवार भयो । एभरेष्ट बैंकको कन्भर्टिवल प्रिफरेन्स सेयर २० रुपैयाँ घटेर ७८८ मा, एभरेष्ट इन्सुरेन्सको १० रुपैयाँ घटेर २७९ मा कारोवार भयो । हिमालयन बैंकको सेयर भने २४ रुपैयाँ चढेर ७३४ मा पुग्यो ।
स्टक महाप्रवन्धक विहिन
शुक्रवारबाट नेपाल स्टक एक्सचेञ्ज महाप्रवन्धविहिन बनेको छ, कामु महाप्रवन्धक प्रमोदकुमार भट्टराईको कार्यकाल जेठ मसान्तमा सकिएपछि स्टक महाप्रवन्धक विहिन बनेको हो । आगामी केही साताका लागि वरिष्ठताका आधारमा विजय गुरुङलाई नेपाल स्टकको कामु महाप्रवन्धकको जिम्मेवारी दिइनेछ ।
यसै साता नयाँ महाप्रवन्धक
गत शुक्रवार महाप्रवन्धकका लागि सार्वजनिक संस्थान निर्देशन बोर्डले मन्त्रिपरिषद्मा सिफारिश गर्न तीन नाम तय गरेको थियो । बोर्डले सात जनाबाट स्टकको महाप्रवन्धकको लागि अर्थमन्त्रालयमा कार्यरत उपसचिव डा. डिल्लीराज रेग्मी, नेपाल स्टकका पूर्वमहाप्रवन्धक शंकरमान सिंह र लगानीकर्ता सिताराम थपलीयालाई छनोट गरेको हो ।
रेग्मी महाप्रवन्धकको सूचीमा पहिलो प्राथमिकतामा छन्, काँग्रेस निकट थपलियालाई पनि स्टकमा राम्रो दावेदार मानिएको छ । थपलियालाई काँग्रेस नेता रामशरण महत्तले ‘व्याक’ गरेको र उनी स्टकमा नियुक्त हुने सम्भावना बढी रहेको स्रोतले बतायो । महाप्रवन्धकको प्रतिश्पर्धामा आउन उनले इन्भेष्टर्स फोरमको अध्यक्ष पद समेत छाडेका थिए ।
काँग्रेसले डा. चिरञ्जीवी नेपाललाई धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति दिंदा थपलिया पनि धितोपत्र बोर्डमा विज्ञ सञ्चालक थिए । उनी अहिले कृषि विकास बैंकको बोर्ड सदस्य छन् । स्टकको महाप्रवन्धकका लागि कामु महाप्रवन्धक भट्टराई, रेग्मी पूर्वमहाप्रवन्धक सिंह, थपलीयासँगै सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिना, राष्ट्रि बीमा संस्थानका पूर्व प्रशासक शिवहरी श्रेष्ठ, र शिक्षक कुमार के।सीले पनि आवेदन दिएका थिए । सात जनामध्ये पाँच जना मात्रै सर्टलिष्टमा परेका थिए । बोर्डले सिफारिश गरेका तीन नाममध्ये मन्त्रिपरिषद्को विहिवार बस्ने बैठकले एक जनालाई नियुक्ति दिने सम्भावना छ । बिहिवार नियुक्ति पाएपछि अर्को साता भित्र नेपाल स्टकमा नयाँ महाप्रवन्ध आउने सम्भावा छ ।

Tata
GBIME