काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको महाप्रवन्धकमा पाँच जनाको नाम सर्टलिस्ट भएको छ । एक्सचेञ्जको महाप्रवन्धकका लागि सात आवेदनमध्ये पाँच उम्मेदवार ‘सर्टलिस्ट’ भएका हुन् । पाँच उम्मेदवारको प्रस्तुती सुनेपछि बोर्डले महाप्रवन्धक नियुक्तिका लागि तीन नाम मन्त्रिपरिषद्मा सिफारिश गर्नेछ । स्टकको महाप्रवन्धकका लागि स्टक एक्सचेञ्जकै कामु महाप्रवन्धक प्रमोदकुमार भट्टराई, पूर्वमहाप्रवन्धक शंकरमान सिंह, नेपाल इन्भेष्टर फोरमका अध्यक्ष सिताराम थपलीया, सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिना र निजामति कर्मचारी डिल्लीराज रेग्मी सर्टलिष्ट भएका हुन् ।
राष्ट्रि बीमा संस्थानका पूर्व प्रशासक शिवहरी श्रेष्ठ र शिक्षक कुमार के।सीले आवेदन दिए पनि दुई जना सर्टलिष्ट हुन सकेनन् । स्टकमा शंकरमान सिंहको कार्यकाल सकिएपछि भट्टराईले स्टक एक्सचेञ्जमा कामु महाप्रवन्धकको जिम्मेवारि सम्हालिरहेका छन् । उनी नेपाल स्टकको सब्सिडरी कम्पनी सिडिएस एण्ड क्लियरिङ्गका सञ्चालक सदस्य समेत हुन् ।
त्यसैगरी नेपाल चेम्वर अफ कमर्शको प्रशासकबाट खुला प्रतिश्पर्धामार्फत स्टक एक्सचेञ्जमा एक कार्यकाल महाप्रवन्धक बनेका सिंहले दोस्रो कार्यकालका लागि आवेदन गरेका हुन् । इन्भेष्टर फोरमका अध्यक्ष थपलीया कृषि विकास बैंकका सञ्चालक सदस्य हुन्, उनी यसअघि नेपाल धितोपत्र बोर्डमा विज्ञ सञ्चालक समेत भैसकेका छन् । तिमिल्सिनाले धितोपत्र बोर्डको जागिर छाडेपछि सिद्धार्थ क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।
संस्थान बोर्डले नेपाल खाद्य संस्थान, नेपाल खानेपानी संस्थान, गोरखापत्र संस्थान, नेपाल स्टक एक्सचेञ्ज लगायतका संस्थानका लागि महाप्रवन्धक माग गर्दै झण्डै एक महिना पहिले सार्वजनिक सूचना आव्हान गरेको थियो । आवेदकको सूची ‘सर्टलिस्ट’ भैरहेको र सर्टलिष्ट भएका उम्मेदवारलाई केही दिनमा प्रस्तुतीकरणका लागि पाँच जनाको नाम सार्वजनिक गर्ने तयारी बोर्डले गरिरहेको छ । बोर्डले यस अघि कर्मचारी सञ्चय कोष, नेपाल वायु सेवा निगम, नेपाल टेलिभिजन, जनक शिक्षा सामाग्री, नेपाल जलविद्युत विकास तथा लगानी कम्पनीको प्रमुखमा नियुक्ति गरिसकेको छ ।
