एनआईसी र बैंक अफ एशिया असार १६ बाट एक हुने, एनआईसी एशियाका नाममा कारोवार थाल्ने

बिजमाण्डू
२०७० जेठ १३ गते ००:०० | May 27, 2013

काठमाडौं । नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक (एनआईसी) र बैंक अफ एशिया नेपालले असार १६ गते आइतवारबाट एकीकृत कारोवार गर्ने भएका छन् । यी दुवै बैंकलाई मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती दिइसकेको छ । दुवै बैंक मर्जपछि एनआईसी एशिया बैंक लिमिटेड बन्नेछ ।
एनआईसी बैंकसँग बैंक अफ एशियाको एक आपसमा सम्पूर्ण दायित्व तथा सम्पत्ती सर्ने नेपाल राष्ट्र बैंकले मंगलवार जारी सूचना उल्लेख छ । असार १६ सम्म दुवै बैंकले शाखा मर्ज गर्ने, दोहोरिएका शाखा रिलोकेट गर्ने, कर्मचारी मिलान गर्ने छन् ।
त्यसपछि एकीकृत कारोवार हुनेछ । मर्ज प्रक्रिया चाँडो टुङ्गयाउन राष्ट्र बैंकले पनि प्रक्रिया छिट्टै अघि बढाएको थियो । दुवै बैंकले चैत पहिलो साता मर्जका लागि साधरणसभाबाट स्वीकृती लिएका थिए । बैंक अफ एशियाको सेयर ५० प्रतिशत मूल्यांकन गर्दै एनआईसी एशियासँग मर्ज गर्ने सम्झौता भएको छ । बैंक अफ एशियामा दुई सेयर हुनेले एनआईसी एशियामा एउटा सेयर प्राप्त गर्नेछन् । मर्जपछि दुई बैंकको चुक्ता पुँजी दुई अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ । मर्ज हुनुअघि एनआईसी बैंकको प्रतिकित्ता सेयर ४६८ रुपैयाँमा कारोवार भएको थियो भने बैंक अफ एशियाको प्रतिकित्ता २२८ रुपैयाँमा कारोवार भएको थियो ।
मर्जरपछि ९० प्रतिशत सञ्चालक एनआइसी बैंककै हुनेछ, प्रमुख कार्यकारी अधिकृतमा एनआइसी बैंकका शशिन जोशीले निरन्तरता पाउने छन् भने अध्यक्षमा पनि जगदिशप्रसाद अग्रवाल नै निरन्तरता पाउने सहमति भएको छ ।  मर्जपछि दुवै बैंकको निक्षेप ३६ अर्ब रुपैयाँभन्दा बढी हुनेछ, एनआईसी बैंकसँग २१ अर्बको निक्षेप छ भने बैंक अफ एशियासँग १५ अर्ब रुपैयाँको निक्षेप छ ।
त्यसैगरी दुईवटा बैंकको साढे २८ अर्बको कर्जा छ, एनआईसीले साढे १५ अर्ब र बैंक अफ एशियाले १३ अर्वको कर्जा परिचालन गरेका छन् । दुई बैंक गरी ६४ वटा शाखा सञ्जाल हुनेछ, अहिले बैंक अफ एशियाका २८ वटा र एनआईसीका ३६ वटा शाखा छन् । ६४ मध्ये १३ स्थानमा दुवै बैंकको शाखा छ । मर्जपछि यी शाखा बन्द नगरी अर्को स्थानमा ‘रिलोकेट’ गर्ने तयारी छ । बैंकले कर्मचारीलाई अवकास नदिई व्यवस्थापन गर्ने तयारी गर्दैछ ।

Tata
GBIME