
काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य आइतवार नौ महिना यताकै न्युन विन्दुमा पुगेको छ । चालु आर्थिक वर्षको सुरुवातमा ४७० भन्दा माथिबाट कारोवार भएको टेलिकमको सेयर मूल्य ६९० रुपैयाँको अधिकत्तम स्तरसम्म पुगेको थियो । एक महिना अघिसम्म पनि प्रतिकित्ता छ सयभन्दा माथि कारोवार भैरहेको टेलिकमको सेयर मूल्य आइतवार आठ रुपैयाँ घटेपछि नौ महिना यताकै न्युन विन्दुमा पुगेको हो । आइतवार टेलिकमको प्रतिसेयर ५२६ रुपैयाँमा कारोवार भयो, यसले अन्य समूहको सूचक ९.३९ अंकले तल झर्यो । यो बीचमा टेलिकमले सेयरधनीलार्इ प्रतिकित्ता ४८ रूपैयाँ नगद लाभांस वितरण गरिसकेको छ ।
बैंकिङ्ग समूह पनि २.०७ अंकले तल झर्दा नेप्सेको मुख्य सूचक पनि २.६६ अंक तल ४८३.६२ अंकमा बन्द भयो । आइतवार होटल समूहको सूचकबाहेक अन्य सबै सूचकमा रातो रंग चढ्यो । तेस्रो त्रैमासमा मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेपछि अरुणभ्यालीको सेयर आइतवार ११ रुपैयाँले बढेर प्रतिकित्ता २८० पुग्यो । कम्पनीले आइतवार मात्रै मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।
छिमेक लघुवित्तको सेयर १२ रुपैयाँले घटेर ४२० मा, चिलिमेको १० रुपैयाँ घटेर १०९७ मा, हिमालयन बैंकको १३ रुपैयाँ घटेर ६८२ मा कारोवार भयो । नविल बैंकको प्रवद्र्धक सेयर २१ रुपैयाँ बढेर १०७६ मा कारोवार भयो भने नेपाल बंगलादेश बैंकको सेयर १५ रुपैयाँ घटेर २६२ मा ओर्लियो । निर्धन उत्थान बैंकको सेयर २४ रुपैयाँ बढेर २६८ मा, टुरिज्म विकास बैंकको १४ रुपैयाँ घटेर ८१ रुपैयाँमा कारोवार भयो ।