दुई रंगका सिलण्डर बनाउने निगमको योजनामा एलपी ग्याँस उद्योग संघको आपत्ति

बिजमाण्डू
२०६९ साउन ८ गते ००:०० | Jul 23, 2012

काठमाडौं । खाना पकाउने ग्याँसमा दुई वटा रंग प्रयोग गर्ने निर्णयप्रति नेपाल एल.पी ग्याँस उद्योग संघले आपत्ति जनाएको छ । आयल निगमले भदौबाट व्यवसायिक र घरेलु गरी दुई रंगका ग्याँस सिलिण्डर बजारमा ल्याउन उद्योगीलाई निर्देशन दिएको थियो । सरकारले व्यवसायीलाई निलो रंगको सिलिण्डर दिने र बजार मूल्यमा बजारमा विक्री गर्ने योजना सार्वजनिक गरेको थियो । त्यसका लागि निगमले ५० प्रतिशत सिलिण्डरमा निलो रंग पोत्न ग्याँस उद्योगहरुलाई निर्देशन पनि दिएको थियो ।
सोमवार संघले प्रेस विज्ञप्ति जारी गर्दै ग्यासमा दोहोरो मुल्य तथा अल्पकालिन नीतिले समस्या समाधान नहुने भन्दै निर्णय फिर्ता लिन निगमलाई चेतावनी दिएको छ । ५० प्रतिशत सिलिण्डरको रंग निलो गरी व्यवसायिक बनाउन व्यवहारिक नहुने समेत संघको ठहर छ ।
भारतजस्तो विकसित मुलुकमा समेत १२ प्रतिशत मात्र व्यवसायिक उपभोक्ता रहेको तथ्यांक दिंदै संघले नेपालमा ५० प्रतिशत सिलिण्डरमा निलो रंग लगाउँदा आम उपभोक्ताले ग्यास नपाउने निश्चित भएको दावी पनि गरेको छ । संघले यसै विषयमा सरकार निगम तथा सरोकारवाला संघसँग सम्वन्धित विषयमा छलफल गर्न सात सदस्यीय कमिटी पनि गठन गरेको छ ।

Tata
GBIME
Nepal Life