काठमाडौं । कोरियाको नयाँ स्कुटर सिटी एस ११० नेपाली बजारमा आएको छ । डेलिम मोटरसाईकल कम्पनी लिमिटेड कोरियाको आधिकारीक बिक्रेता हनिवेल ईण्टरनेसनलले यो स्कुटर नेपाली बजारमा ल्याएको हो । कम्पनीका प्रवन्ध निर्देशक चित्र कुँवरले नेपाली बजारमा अधिकतम सुरक्षित सवारीसाधन ल्याउन पाउँदा खुशी लागेको बताए । उनले डेलिमका मोटरसाइकललाई विश्वबजारमै रुचाइएकोले नेपाली उपभोक्ताले पनि मनपराउने दावी गरे । कम्पनीले स्कुटरको ब्रान्ड एम्बेस्डर पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठलाई बनाएको छ ।
सुन्दरीको साथमा स्कुटी: कोरियन ब्राण्डको सिटी एस ११० स्कुटी प्रवद्र्ध कार्यक्रममा उद्योगपति सौरभ ज्योती र पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ
कम्पनीका अनुसार स्कुटर छरितो साधन हुनुका साथै व्यवहारिक डिजाईन भएको व्यक्तिगत तथा व्यापारिक दुबैरुपमा प्रयोग गर्नसकिने छ । स्कुटरको अगाडीको भाग छुट्याउन मिल्ने छ जसले स्कुटरलाई लचकता प्रदान गर्दछ । यो स्कुटरमा चार वटा गियर र चार लिटरको टंयाकी छ । कम्पनीका अनुसार यो स्कुटरले ५० किलोमिटर माइलेज दिन्छ । स्कुटरको पछाडिको सिटको भागमा थप भार थेग्ने क्षमता धेरै रहेको छ । जसको कारण सजिलै सामानहरु लोड गर्न सकिन्छ । कम्पनीका अनुसार गुणस्तरिय प्रविधिबाट बनेको स्कुटर अधिकतम गति १ सय २ किलोमिटर प्रति घन्टा छ ।
स्कुटरमा साइड स्ट्याण्डमा स्वीच जडान गरिएको छ जसले गर्दा साइड स्ट्याण्ड जबसम्म भुईबाट माथि आई चाहिएको पोजिसनमा हुदैन तबसम्म स्कुटर गुडाउन सकिदैन । स्कुटर निलो रातो कालो सेतो र सिल्भर रंगमा उपलब्ध छन् । कम्पनीले एक वर्षको वारेन्टी १५ पटक निशुल्क सर्भिस सुविधा दिएको छ । यो स्कुटरको मूल्य अन्य भारतीय स्कुटर भन्दा महँगो छ । १ लाख ९९ हजार मूल्य तोकिएको यो स्कुटरले भारतीय होन्डाको डियो महिन्द्राको रोडियोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।