काठमाडौं । साताको पहिलो दिन स्टकमा चिलिमे हाइड्राको तीन करोड १४ लाख रुपैयाँको सेयर कारोवार भएको छ । कम्पनीको प्रतिकित्ता २४ रुपैयाँ सेयर मूल्य घटेर ११२७ मा २८ हजार कित्ता सेयर कारोवार भएको हो । कम्पनीको ११२० देखि ११४० को रेञ्जभित्र ३९ कारोवारबाट आइतवार ठूलो मात्रामा सेयर कारोवार भएको हो ।
यसले नेपाल स्टकमा आइतवार दश करोड रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ । चिलिमेको सेयर अहिले जलविद्युत लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान र क्लिन इनर्जीले कन्सोलिडियट गरिरहेका छन्, क्लिन इनर्जी जस्ता ठूलो प्लेयरले बजारमा चिलिमेको मूल्य बढ्दा विक्री गर्ने र घट्दा खरिद गर्ने कारण सेयर मूल्य लामो समयदेखि स्थिर पनि छ । चिलिमेको सेयर मूल्य ठूलो मात्रामा गिरावट आएपछि आइतवार जलविद्युत समूहको सूचकांक १२.२५ अंकले तल झर्यो ।
उता आइतवार स्टक १९ प्रतिशतको असर रह्यो, यो असरका कारण अधिकांश बैंकको सेयर मूल्यमा गिरावट आयो । बैंक अफ काठमाण्डूको सेयर ११ रुपैयाँ कम ६४९ मा, सिटी डेभलपमेन्ट बैंकको १३ रुपैयाँ घटेर १५३ मा, एभरेष्ट बैंकको २७ रुपैयाँ घटेर १५४० मा, एभरेष्ट बैंक कन्भर्टिवल प्रिफरेन्स सेयर १६ रुपैयाँ घटेर ७९८ मा कारोवार भयो । डिप्रोक्स विकास बैंकको सेयर भने २४ रुपैयाँ बढेर ३४० पुग्यो ।
फेवा फाइनान्सको प्रवद्र्धक सेयर २८ रुपैयाँ घटेपछि १८७ मा कारोवार भयो भने ग्लोबल आइएमईको १३ रुपैयाँ घटेर ४९५ मा आयो, लाइफ इन्सुरेन्स कम्पनीको ११ रुपैयाँ घटेर १०२० मा, नविल बैंकको प्रवद्र्धक सेयर ४० रुपैयाँ घटेर १०७० मा, नेपाल इन्भेष्टेमेन्ट बैंकको ३० रुपैयाँ घटेर ७३४ मा कारोवार भयो । नेशनल लाइफ इन्सुरेन्सको भने १० रुपैयाँ बढेर ५४० मा पुग्यो । नेपाल एसबीआईको सेयर ४० रुपैयाँ घटेर ८३२ मा, स्ट्याण्डर्ड चार्टडको १५ रुपैयाँ घटेर १८०५ मा, सगरमाथा इन्सुरेन्सको २१ रुपैयाँ घटेर १०४४ मा, शिखर इन्सुरेन्सको १४ रुपैयाँ घटेर ४३७ मा कारोवार भयो । युनिलिभरको सेयर भने १८९ रुपैयाँ बढेर ९६७२ मा कारोवार भयो ।
